
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेपाल समूहले निर्णय गरिसकेको बताइएको छ । नेपाल समूहले आन्तरिक रुपमा विश्वासको मत दिने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने निर्णयमा पुगेका हुन् ।
यो कुरालाई नेपाल समूहका सांसदहरुले पुष्टि गरेका छन् । नेपाल समूहका अर्का नेता झलनाथ खनालले एमालेका सम्पूर्ण सांसदहरुलाई देउवालाई विश्वासको मत दिन विज्ञप्ति निकालेर अपील गरेका छन् । उनले देउवाले विश्वासको मत नपाए राजनीतिक संकटग्रस्त अवस्थामा जाने भन्दै खनालले कुनै अलमलमा नपरी विश्वासको मत दिन अपील गरेका हुन् ।
स्वास्थ्यका कारण पछिल्ला राजनीतिक घटनाक्रम र एमालेको विवादमा प्रत्यक्ष सहभागी हुन नपाएका नेता खनालले आइतबार विज्ञप्ति जारी गरेका छन् ।
खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको छ र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति र फेरि संकटग्रस्त हुनेछ । तयसैले म नेकपा (एमाले)का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमत र आक्रोसबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु । मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छ ।”
त्यसैगरी संसद् पूर्णकाल चल्नुपर्ने भन्दै नेपाल समूहले यस्तो जोखिम उठाएको हो । योसँगै एमालेको पार्टी एकताको सम्भावनालाई अन्त्य गरिदिने छ । नेपाल समूहका सांसद विरोध खतिवडाले देउवालाई विश्वासको मत दिने कुराको पुष्टि गरे । उनले संसद् पूर्णकाल चल्नुपर्छ भन्दै आफूहरुले आएको र संसद पूर्ण अवधिको लागि विश्वासको मत दिने बताए । देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुने भएकोले आफूहरुले यो निर्णय गरेको खतिवडाले बताए ।
- फाइल फाेटाे