काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अहिले ११ बजे बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
पुनस्र्थापित प्रतिनिधिसभा बैठक बस्नु अगाडि एमाले बैठक बस्न लागेको हो । बैठकले प्रतिनिसभा बैठकमा सहभागी हुने वा बहिस्कार गर्नेबारे पनि छलफल हुने बताइएको छ । ओली समूहका कतिपय नेताहरुले संसद बैठक बहिस्कार गर्नुपर्ने बताउँदै आएका छन् । तर, अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीले कुनै जवाफ दिएका छैनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेको लागि राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठक बस्न लागेका हुन् । प्रतिनिधिसभा विघटन ओलीको कदमलाई सर्वोच्च अदालतले उल्ट्याउँदै आज बैठक बस्न आदेश दिएको थियो ।
एमालेको आजको बैठकमा कार्यदलका नेताहरुले तयार गरेको १० बुँदे सहमतिसँगै नेता माधव कुमार नेपाल समूहले स्थायी समिति बैठक स्थगित गर्न गरेको प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।
यसअघि कार्यदलमा सहभागी नेताहरुले स्थायी समिति बैठक स्थगित गर्न अध्यक्ष ओलीसँग प्रस्ताव गरेका थिए । तर, अहिलेसम्म उक्त प्रस्ताव अस्वीकार गर्दै आएका छन् । शनिबार कार्यदल सदस्यसँग ओलीले कति दिन बैठक स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गरेका थिए ।
एमालेको ओली सूहले भोलि (सोमबार) का लागि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । केन्द्रीय कमिटी बैठक पनि तुल्सीलाल स्मृति प्रतिष्ठानमै बस्नेछ । भोलिको बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि थप छलफल हुने नेताहरुले बताएका छन् ।