
काठमाडौँ । उच्चस्तरिय राजनीतिक भेटघाटमा जुटेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आज नेकपा एमाले नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेपाललाई भेट्न विहीबार विहान विप्लव कोटेश्वार पुगेका थिए ।
विप्लवसँगै नेकपाका सचिवलाय सदस्य धर्मेन्द्र बास्ताला पनि कोटेश्वार पुगेका थिए । तीन नेताबीचको भेटवार्तापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित छलफल भएको थियो ।
स्रोतका अनुसार नेताहरुबीच ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयन, पछिल्ला राजनीतिक घटनाक्रम र कोरोना महामारीसँग जुध्नेलगायतका विषयमा छलफल भएको छ ।
भेटको क्रममा विप्लवले ओली सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे चाँसो राखेका थिए भने प्रचण्ड र नेपालले सहमति कार्यान्वयनमा आफूहरुले पहल गर्ने बचन दिएको बताइएको छ ।
बुधबार विप्लवले प्रचण्ड निवासमै पुगेर भेटवार्ता गरेका थिए । प्रचण्ड र विप्लवबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइरहेकै बेला एमाले नेता नेपालसँग पनि भेटवार्ता भएको छ ।
बुधबार सम्पन्न नेकपाको सचिवालय बैठकले राजनीतिक भेटघाट गरेर तीन सहमति कार्यान्वयनको पहल गर्ने निर्णय गरेको थियो । आफूले गरेको सहमति अलपत्र पारेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास लागेसँगै विप्लवले उच्चस्तरिय भेटघाटलाई तीब्र पारेका हुन् ।