
काठमाडौँ । सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । तर, नियुक्तीको भाषालाई लिएर विवादका कारण यो समाचार तयार पार्दासम्म देउवाले शपथ लिएका छैनन् ।
नियुक्ति पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै चौतर्फी विरोध भएपछि देउवाले भाषा नसच्याएसम्म शपथ नलिने अडानमै छन् । देउवा राष्ट्रपति भवन शितल निवासमै छन् । त्यहाँ अन्य शिर्ष नेताहरुबीच छलफल भइरहेको छ ।
देउवाले आजै चार मन्त्रीलाई शथप खुवाउने तयारी पनि गरेका छन् । नेपाली काँग्रेसबाट बालकृष्ण खाँड र ज्ञानेन्द्र कार्की र माओवादी केन्द्रबाट जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ पम्फा भुसाल गरी पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्न लागिएको छ ।
सत्ता साझेदारको सबैभन्दा ठूलो दल माओवादी केन्द्रलाई अर्थसहित महत्वपूर्ण मन्त्रालय दिन देउवा तयार भएका छन् । पहिलो चरणमा माओवादीबाट प्रभाकरलाई अर्थ र भुसाललाई उर्जा मन्त्रालयको जिम्मा दिने सहमति भएको छ । देउवा र प्रचण्डबीच भएको सहमतिमा माओवादी मन्त्रीले आजै शथप लिनेछन् ।
पूर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहेका प्रभाकरको लागि अर्थ नयाँ मन्त्रालय हो । यसअघि उर्जामन्त्री हुँदा लोडसेडिङ गरेपछि चर्चामा आएका प्रभाकर गृहमन्त्री समेत भएका थिए । हुन त यसअघि माओवादी नेता बाबुराम भट्टराई, कृष्णबहादुर महरा र वर्षमान पुन अर्थमन्त्री भइसकेका छन् ।
भट्टराईले केही लोकप्रिय कार्यक्रम ल्याएपनि महरा र पुनले भने खासै परिणाममूखी काम गर्न नसकेको भन्दै माओवादीमै आलोचना भएको थियो । तर, कार्य सम्पादनमा माओवादी नेतामा प्रभाकर अब्बल दर्जामा राखिन्छ ।
प्रभाकर अर्थ मन्त्री हुने भएको समाचार सार्वजनिक भएसँगै नेपाली जनताको आर्थिक अवस्था उकास्न प्रभाकरले महत्वपूर्ण भूमिका खेल्ने आशा र सुझाव सामाजिक संजालमा व्यक्त गरिएका छन् ।
सुरुमा गृहमन्त्रीको चर्चा भएपनि देउवाले खाँणलाई गृहमन्त्री बनाउन चाहेपछि प्रभारकलाई अर्थको जिम्मा दिइएको बताइएको छ । प्रचण्डले गृह र अर्थमध्ये एक आफूले पाउनु पर्ने देउवासँग शर्त राखेका थिए ।