
काठमाडौँ । सर्वोच्चको आदेशअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्रीको शपथ खुवाउने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । आफूले शपथ खाएसँगै देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि सोमबार विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् बनाउने सहमति गरेको थियो । सर्वोच्चको आदेशअनुसार देउवालाई साँझ ५ बजेभित्र प्रधानमन्त्रीको सपथ खुवाईसक्नु पर्नेछ ।
पहिलो चरणमा मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीहरुको नामबारे टुंगो लगाउन अहिले विपक्षी गठबन्धनको बैठक बस्दैछ । ठूला मानिएका मन्त्रालयमा गठबन्धनमा सहभागी मन्त्रीहरुले दाबी गरिरहेका छन् ।
संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने विपक्षी गठबन्धनका नेताहरुले बताएका छन् ।
गठबन्धनमा सहभागी दलहरुलाई हैसियतअनुसारको मन्त्रालयको भागबण्डा गर्ने बताइएको छ । प्रधानमन्त्री पाएको काँग्रेसले अर्थ, संचारसहितका मन्त्रालयमा दाबी गरिरहेको छ । त्यस्तै, गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले गृह, परराष्ट्रसहितका मन्त्रालयमा दाबी गरिरहेको छ ।
दाबीअनुसार नै माओवादी केन्द्रलाई गृह मन्त्रालय दिने सहमति भएमा को मन्त्री बन्ला भन्ने चर्चा पनि सुरु भएको छ । यसअघि गृहमन्त्री भएका जनार्दन शर्मा ‘प्रभाकर’को चर्चा सुरु भएको छ । एक नेताका अनुसार कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न देशैभरीका प्रशासन कार्यालयले प्रभावकारी ढंगबाट काम गर्नुपर्ने भएकोले प्रभाकरलाई नै मन्त्री बनाउनु पर्ने केही नेताहरुले प्रचण्डलाई सुझाव दिएका छन् ।
“अहिले कोटा पूरा गर्न मन्त्री बनाइनु हुँदैन । प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सक्नेलाई मन्त्री बनाइनुपर्छ । माओवादीमा प्रभावकारी रुपमा कार्य सम्पादन गर्न सक्ने प्रभावकारी जी पनि हो । त्यसैले उहाँलाई गृहमन्त्री बनाउन हामीले अध्यक्षलाई सुझाव दिएका छौं” एक नेताले भने ।
सर्वोच्च अदालते प्रतिनिधिसभा विघटन र देउवाको दाबी नपुग्ने भन्ने राष्ट्रपतिको निर्णय असंवैधानिक भएको सोमबार फैसला गरेको थियो । १४६ जनाको हस्ताक्षर भएकोले दाबी पुग्ने भन्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीको सपथ खुवाउन परमादेश जारी गरेको छ । त्यस्तै, साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन पनि सर्वोच्चको आदेशमा भनिएको छ ।