
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’को स्वास्थ्य सुधारमा देखिएन । हाइलेन्ट हर्ट अट्याक भएपछि शुक्रबार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार सुदर्शनको इको र इसिजीको रिपोर्ट राम्रो नदेखिएपछि थप उपचारको लागि सीसीयूमा राखिएको छ । आइतबार सुदर्शनलाई सीसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।
एनसेल घटनामा पाटन उच्च अदालतले निर्दोष सावित गरेपनि हा’तहति’यार मुद्धामा पुर्पक्षाको लागि सुदर्शनलाई नख्खु कारागारमा राखिएको थियो । केही दिन स्वास्थ्यमा समस्या आएको जानकारी जेल प्रशासनलाई भएपनि लापरवाही गरिएको थियो ।
सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार मुद्धा फिर्ता नलिएपछि नेता सुदर्शनसहितका नेताहरु जेलमै रहेका छन् ।
नेकपाका प्रवक्ता र सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटर तीन बुँदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गरेका थिए । तर, भेटवार्ता गरेको हप्ता बित्न लाग्दा पनि सहमति कार्यान्वयनको कुनै छाट नदेखिएको नेकपाका नेताहरु बताउँछन् ।