
काठमाडौं । प्रचण्ड र गोपाल किँरातीले पार्टी एकता गर्ने भएका छन् । नेकपा –माओवादी केन्द्र) एमालेसँग मिलेपछि माओवादी केन्द्र पुनर्गठन गरेका किँराती अब पार्टी एकता गर्न लागेका हुन् ।
सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई ब्युँताइदिएपछि गोपाल किँरातीले नेतृत्व गरेको माओवादी केन्द्र संकटमा परेको थियो । एमालेसँगको एकताप्रति रुष्ट भएका किँरातीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए ।
किँरातीले नेतृत्व गरेको पार्टी पनि विभाजन भएको थियो । किँराती नेतृत्वको माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीले अलग पार्टी बनाएका थिए । बुढाथोकीले विप्लव नेतृत्वको नेकपासँग कार्यगत एकता गरेका छन् ।
केही दिनदेखि प्रचण्ड र किँरातीबीच पार्टी एकताबारे छलफल गर्दैै आएका थिए । एक नेताका अनुसार आन्तरिक र सांगठनिक रुपमा एकताको खाका तयार भइसकेको छ ।
माओवादी केन्द्रले पूर्वमाओवादी एकतालाई प्राथमिकता दिँदा तत्कालिन २०६२ सालको नेकपा (माओवादी)को संरचनाअनुसार जिम्मेवारी दिने तयारी भएको छ । जसअनुसार २०६२ सालमा स्थायी कमिटीमा रहेका, पोलिटव्युरोमा रहेका र केन्द्रिय कमिटीमा रहेकालाई सोही हैसियतमा जिम्मेवारी दिइने एक नेताले बताए ।
एमालेले पार्टी विवाद मिलाउन थालेपछि माओवादीहरुलाई पनि दवाव बढेको छ । यसको लागि माओवादी नेताहरु विभिन्न चरणमा छलफल गरिरहेका छन् ।