
काठमाडौँ । अखिल क्रान्तिकारीले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति विपरित संगठनका बाँके अध्यक्ष डिबी शाहीलाई प्रहरीले गिरफ्तार गरेर उत्तेजित बनाउन खोजेको बताएको छ । प्रहरीले विना कारण घरबाटै गिरफ्तार गरेर झुटा मुद्धामा फसाउन खोजेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।
संगठनका भेरी–कर्णाली ब्यूरो संयोजक हर्कबहादुर बिकले शुक्रबार एक विज्ञप्ति जारी गरेर शाहीलाई निःशर्त रिहाई गर्न माग समेत गरेका छन् । प्रहरी प्रशासनले पूर्वाग्रही ढंगबाट अध्यक्ष शाहीलाई गिर’फ्तार गरेको बिकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
संयोजक बिकले स्वास्थ्य मापदण्ड पूरा गरेर आफ्नो संगठनले कोरोना पीडित तथा जनसरोकारमा सक्रिय रहेको बेला प्रहरीले शाहीलाई गिरफ्तार गरेको भन्दै निन्दा गर्दै रिहाईको माग गरेका छन् । उनले रिहाई नगरे संगठन संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने समेत चेतावनी दिएका छन् ।
विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै उसको विद्यार्थी संगठनका गतिविधिमाथि पनि सरकारले रोक लगाएको थियो । सरकारसँग तीन बुँदे सहमति पछि नेकपासँगै उसका भातृ संगठनहरुका गतिविधि पनि खुला भएका थिए । अखिल क्रान्तिकारीका गतिविधि खुला भएपनि प्रहरीले शुक्रबार विहान शाहीलाई कोहरपुरस्थित घरबाटै प्रहरीले गिरफ्तार गरेको थियो ।
यस्तो छ विज्ञप्तिः
कोरोना महामारीका कारण विश्वब्यापी रुपमा उत्पन्न स्वास्थ संकटको समाधान गर्न विश्व साम्राज्यवादी एवं पुँजीवादी व्यवस्था असफल साबित भइसकेको स्थितिमा हाम्रो मुलुक पनि उक्त सङकटबाट अछुतो रहेन । दलाल पुँजीवादी व्यवस्था अन्तरगतको अर्थतन्त्र, शिक्षा स्वास्थलगायत सत्ताका समग्र क्षेत्रमा देखिएको संटका कारण जनताले नयाँ विकल्प खोजेको विद्यमान परिस्थितिमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच २०७७ चैत्र २१ गते सम्पन्न ३ बुँदे सहमतिले क्रान्तिकारी, प्रगतिशील, देशभक्त आम मानिसहरुमा खुशीका साथै मुलुकको अग्रगामी निकासको लागि वैज्ञानिक समाजबादको अकाट्य विकल्पप्रति विश्वास पैदा भएको कुरा सर्बबिदितै छ ।
हाम्रो संठन अखिल (क्रान्तिकारी) वर्तमान दलाल पुँजीवादी शिक्षाको आमूल रुपान्तरणमार्फत वैज्ञानिक समाजवादी शिक्षा र त्यसको लागि वैज्ञानिक समाजवादी राज्यब्यबस्थाको अनिवार्यतालाई स्वीकार्दै निरन्तर संघर्षरत छ । हाल कोरोना महामारीको गम्भीर संकटको समयमा समेत स्वास्थ्य मापदण्ड अपनाउदै हाम्रो संगठन जनसरोकारका पक्षमा निरन्तर क्रियाशील छ ।
यसै सन्दर्भमा हाम्रो संगठनका बाँके जिल्ला अध्यक्ष कमरेड डिबी शाहीलाई घरबाटै बाँके प्रहरीले बिनाकारण गिरफ्तार गरी झुटा मुद्दा लगाउने षड्यन्त्र गरिरहेकोप्रति हाम्रो संगठन कडा आपत्ति प्रकट गर्दै प्रहरी प्रशासनको अत्यन्तै पुर्वाग्रही रबैयाको घोर निन्दा गर्दछ । उहाँलाई ससम्मान निःशर्त रिहाइको लागि हाम्रो संगठन जोडदार माग गर्दछ । प्रहरी प्रशासनले शक्तिको दुरुपयोग गरी हाम्रो संगठनलाई उत्तेजित बनाउने काम नगरोस् भन्ने चेतावनी दिन चाहन्छौं । अन्यथा चरणबद्धरुपमा कडा संघर्षका कार्यक्रम घोषणा गर्न हाम्रो संगठन बाध्य हुने समेत चे तावनी दिन चाहन्छौं ।