
काठमाडौं । नेकपा (एमाले) ओली समूहले बोलाएको केन्द्रीय कमिटीको बैठक बस्दै छ । आज विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एमालेले जनाएको छ ।
दशौं महाधिवेशन आयोजक समिति विघटन गरेका अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय समिति बैठक बोलाएका थिए । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।
माओवादी केन्द्रसँग एकता पूर्वको संरचनामा फर्काएपछिको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ । नेता माधव कुमार नेपाल समूहले पूर्ववत् अवस्थामा पार्टी संरचना फर्काउनुपर्ने माग गर्दै आएको थियो । तर, आजको बैठकमा सहभागी नहुने भएको छ ।
विहीबार नेपाल समूह बसेको स्थायी समिति बैठकले आजको बैठकमा नजाने निर्णय गरेको थियो । बैठकले सहमतिबाट नवौं महाधिवेशनबाट निर्वाचित पार्टी संरचना र जनसंगठनका संरचना ब्युँताउने पर्ने निर्णय समेत गरेको थियो ।
नेपाल समूहका नेता भीम रावलले सर्वोच्चको फैसलाका कारण दशौं महाधिवेशन आयोजक समिति विघटन गरेपनि अध्यक्ष ओलीले एकलौटीरुपमा पार्टीमा निर्णय गरेकोले आफूहरुलाई मान्य नहुने बताएका थिए ।
नेपाल समूहले शुक्रबार विहान केन्द्रीय समिति बैठक स्थगित गर्न सन्देश पठाएको छ । एक नेताका अनुसार दोस्रो तहका नेतामार्फत नेपालले अध्यक्ष ओलीलाई आजको बैठक स्थगित गर्न सन्देश पठाएका हुन् । तर, ओली समूहका एक नेताले केन्द्रीय समिति बैठक स्थगित नहुने बताए ।
विहीबार साँझ ओली र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो । छलफलमा नेपाल समूहका नेताहरुले २०७५ जेठ २ को केन्द्रीय कमिटीमा नफर्किएको भन्दै बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।