
काठमाडौं । संसद् विघटनविरुद्धको रिटहरुमाथि आज पनि बहस हुँदैछ । हिजोबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ ।
नेपाली कांंग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिट निवेदनमा आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ लगागतले बहस गर्नेछन् । हिजो देउवाको पक्षमा ५ जना वकिलहरुले बहस गरेका थिए ।
हिजो बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले कुन सांसदले प्रधानमन्त्रीको विश्वासको प्रस्तावमा भोट हाल्न पाउने र कसले नपाउने भनेर छुट्याउने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गरेका थिए ।
अर्का अधिवक्ता खम्बबहादुर खातीले प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवाको दाबी पुग्ने भएपनि दुरासय मनसायका साथ प्रतिनिधिसभा विघटन गरिएको बताउँदै प्रतिनिधिसभा पुनस्र्थापना हुन पर्ने दाबी गरेका थिए ।
यसैगरी बहस गर्दै वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिले आफ्नो जिम्मेवारी पूरा नगरेको बताएका थिए । उनले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई कहाँ छ भन्ने प्रश्न गरेका थिए ।
रिट निवेदकका वकिललाई १५–१५ घण्टाको समय सर्वोच्चले दिएको छ । त्यस्तै चार जना एमिकस क्यूरीले आधा आधा घण्टाको बहस समय छुट्याइएको छ ।