
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले एमाले प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गरेको छ । माओवादी केन्द्रको सोमबार भर्चुअल विधिबाट बसेको केन्द्रीय समिति बैठकले पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेका उनीहरुलाई पार्टीको साधारण सदस्यबाटै निस्काशन गरेको हो । बैठकले २ नगर प्रमुख, ६ उपप्रमुख, १ नगरपालिका सदस्य, १ गाउँपालिका अध्यक्ष, ४ वडाअध्यक्ष गरी १४ जनालाई कारवाही गरेको छ ।
रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा कारबाहीमा परेका छन् ।
यस्तै, रौतहटको देवाही गोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साहलाई कारबाही गरेको माओवादी केन्द्रले जनाएको छ ।
बैठकले अन्य १ नगरपालिका सदस्य, १ गाउँपालिका अध्यक्ष, ४ वडाअध्यक्षलाई पनि माओवादीबाट निस्कासन गर्ने निर्णय गरेको छ । उनीहरु सबै माओवादीमा नरहेको जानकारी निवार्चन आयोगलाई दिने तयारी भएको माओवादी केन्द्रले जनाएको छ ।