
काठमाडौँ । लुम्बिनी प्रदेशमा विपक्षी दहरुले बजेट पास हुन नदिने बताएका छन् । अल्पमतको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको भन्दै आइतबार बसेको प्रदेश सभा बैठक बहिस्कार गरेका हुन् ।
असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गरेको थियो । तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए ।
त्यसपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट हिँडेका थिए । आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।
विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको भन्दै राजिनामा दिनु पर्ने बताउँदै आएका छन् । तर, मुख्यमन्त्री पोखरेलले भने आफूहरुसँग बहुमत रहेको दाबी गर्दै अल्पमतमा पर्ने वित्तिकै राजिनामा दिने बताउँदै आएका छन् ।