
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । पोखरेलको पक्षमा ३१ र विपक्षी नेपाल कम्युनिस्ट पार्टी एमालेको पक्षमा २७ मत खसेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका थिए ।
प्रदेशसभामा ५८ सांसदले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।
नेपाली काँग्रेसको तर्फबाट पहिलो मुख्यमन्त्री पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्र सांसदले मतदान गरेका थिए । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् ।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।