आज :

सातवटै प्रदेशले ल्याए बजेट, सबैभन्दा ठूलो बजेट बागमती प्रदेशमा

काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ लागि बजेट ल्याएका छन् । असार १ गते अनिवार्यरुपमा बजेट ल्याउनुपर्ने भएकोले आज सबै प्रदेशले बजेट भाषण गरिरहेका छन् ।

गण्डकी प्रदेशले घटाएर ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । आर्थिक मामिला मन्त्री नियुक्त नभएकोले मुख्यमन्त्री पोखरेलले बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश नम्बर १ सरकारले पनि चालु आर्थिक वर्षभन्दा घटाएर बजेट ल्याएको छ । १ नम्बर प्रदेशले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो ।

आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख र पूँजीगतर्फ १५ अर्ब ५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको बताए । त्यस्तै, स्थानीय तह बित्त हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख र वित्तीय व्यवस्थातर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको प्रदेशसभमा मन्त्री आङबुहाङले जानकारी दिए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् ।

बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री शाहले चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको बताएका छन् । चालुतर्फ चालु आर्थिक वर्षको तुलनामा ४ अर्ब बजेट घटाइएको छ भने पुँजीगतर्फ झण्डै एक अर्बले वृद्धि भएको छ ।

सबैभन्दा ठूलो आकारको बजेट बागमती प्रदेशले ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतमध्ये कर तथा राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजश्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख उठ्ने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालु आर्थिक वर्षबाट राजश्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा प्रदेशभरका जनतालाई कोभिड खोप निःशुल्क लगाउन २ अर्ब, कोभिड संक्रमणका कारण आमाबुवा गुमाएका बालबालिकाका लागि मासिक ३ हजार शैक्षिकभत्ता दिइने उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको छ ।
आगामी आवको बजेट चालु आवको भन्दा साढे ३ अर्बभन्दा बढी हो । आर्थिक वर्ष २०७८÷७९ मा ३७ अर्ब ३५ करोडको बजेट थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal