
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको बताएका छन् । बहुमतका ेनिर्णयलाई मान्यता नदिने निर्णयविरुद्ध आफूहरु कानूनी लडाइँ लड्ने यादवले बताए ।
पार्टी निर्णय विपरित कार्य गरेको तथा पार्टीका अनुशासन उल्लघंन गरेको भन्दै यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेका थिए । आयोगले दुवैजना अध्यक्षले एक अर्कालाई कारवाही गर्न नसक्ने भन्दै हाल रहेको पदाधिकारी नै कायम रहने निर्णय गरेको थियो ।
आयोगको उक्त निर्णय लोकतन्त्र र पार्टी पद्धतीविरुद्धमा रहेको भन्दै यादव समूह अदालत जाने तयारी गरेको छ । अध्यक्ष यादवले कानुन व्यवसायीसँग छलफल गर्न लागेका छन् । आज कानुन व्यवसायीसँगको छलफल सकिए भोलि नै सर्वोच्च अदालतमा रिट दायर गर्ने बताइएको छ ।
यादवले कारवाही गरेपछि महन्थ ठाकुर समूहले पनि यादवलाई कारवाही गरेको थियो । दुवैजनाले एक अर्कालाई यसरी कारवाही गरेको निर्वाचन आयोगमा जानकारी गराउँदै त्यहाँको दर्ता किताबलाई अध्यावधिक गर्न आग्रह गरेका थिए । तर निर्वाचनले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) को यादव पक्ष सर्वोच्च अदालत जाने निष्कर्षमा पुगेको छ ।
कार्यकारिणी समितिको बहुमतिबाट ठाकुरसहितका नेताहरुलाई कारवाही गरिएकोले मान्यता नदिनु पूर्वाग्रही निर्णय नभएको यादव पक्षका नेताहरुले बताएका छन् । अध्यक्ष यादवले ठाकुर समूहका नेताहरुले पार्टी निर्णयविरुद्ध गएकोले जसरी पनि कारवाही गरेरै छाड्ने बताउँदै आएका छन् ।