
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र पोखरेल बन्ने निश्चित जस्तै भएको छ । प्रदेशसभाका बहुमत सांसदहरुको हस्ताक्षरसहित पोखरेलले दाबी पेश गरेका हुन् ।
काँग्रेसको प्रदेशसभा दलका नेता समेत रहेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरियोस् भन्दै ३१ जना सांसद प्रदेश प्रमुख सीताकुमारी पौडेल कहाँ पुगेका थिए ।
आजै प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
प्रदेश प्रमुख पौडेलले भोलि (२९ गते) दिउँसो ३ बजेसम्मको समय सीमा दिएर दाबी पेश गर्न आह्वान गरेपनि विपक्षी गठबन्धनले आजै पेश गरेका छन् ।
पोखरेललाई नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्छीका २ र स्वतन्त्र सांसद राजिव गुरुङले समर्थन गरेका छन् । सांसहरुको हस्ताक्षरसहित सांसदहरुले प्रदेश प्रमुख पौडेललाई भेटर दाबी पेश गरेका हुन् । दाबी पेश दर्ता समेत भएको छ ।
योसँगै विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वासको मत प्राप्त गर्न सकेका थिएनन् ।
यस्तो संविधानअनुसार मुख्यमन्त्री चयन गर्ने प्रक्रिया
संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्अयमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।
उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।
अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।
धारा १६८(५) मा मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।