
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको प्रस्ताव पेश गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
प्रदेशसभा बैठकमा बोल्दै गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिएका छन् । त्यो भनेको संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्ने संकेत गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र यो तथ्य एक महिना अघि प्रमाणित भएको दावी समेत गरे । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार सञ्चालन गरेर उपधारा ४ अन्तर्गत विश्वासको मतका लागि आफू प्रदेशसभामा उपस्थित भएको उनले बताए ।
प्रदेशसभा बोल्दै मुख्यमन्त्री गुरुङले विश्वासको मत पाएमा सरकारको नीति तथा कार्यक्रम पेस गरी गण्डकी प्रदेशसभा बैठकमा बजेट पेस गर्ने र नभए संवैधानिक व्यवस्थाअनुसार अघि बढ्नुपर्ने जानकारी समेत गरेका थिए । उनले तीन वर्षको अवधिमा आफ्नो नेतृत्वको सरकारले समृद्ध प्रदेश निर्माणको बलियो आधारशिला निर्माण गरेको दावी गरे ।
गत वैशाख २९ गते राजिनामा दिएर संसद ठूलो दलको हैसियतमा पुनः नियुक्त भए मुख्यमन्त्रीले संवैधानिक प्रावधानअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रस्ताव पेश गर्दै उनले आफ्नो सरकारलाई जोगाउन माग मागे ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा र एमालेको सहयोगमा स्वतन्त्ररुपमा जितेका गुण्डा नाइके दिपक मनाङेले साथ दिने गुरुङले अपेक्षा गरेका थिए । थापाले साथ दिएपनि मनाङले भने विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेका छन् ।
प्रदेशसभाका ६० सांसदमध्ये एमालेसँग २७ जना छन् । विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद गरी जम्मा ३१ मत पुग्छ । तर जनमोर्चाका सांसद कृष्ण थापा सुरुदेखि नै वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने पक्षमा छन् ।
थापाले एमालेलाई साथ दिएपनि मनाङ विपक्षी गठबन्धनमा उभिए मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढल्नेछ । तर, मुख्यमन्त्री गुरुङको धम्कीलाई विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकै बाटोमा गुण्डकी प्रदेशका मुख्यमन्त्री हिड्न खोजेको आरोप लगाएका छन् ।