काठमाडौँ । नेकपा (एमाले)मा श्रीमान् श्रीमति आलोपालो मन्त्री भइरहेको चर्चा भइरहेको बेला पूर्वमाओवादी नेता बादलले पनि त्यही बाटो समातेका छन् । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्रीबाट हात धुन बाध्य बादलले श्रीमति नैनकला थापालाई संचारमन्त्री बनाएका छन् ।
एमाले नेता रघुवीर महासेठ र श्रीमति जुली कुमारी महतोले आलोपालो मन्त्री भएको र शेरबहादुर तामाङका दुबै श्रीमान श्रीमति मन्त्रीको लागि नेता माधव कुमार नेपाल समूह परित्याग गरेको भन्दै आलोचना भइरहेको छ । यही बेला बादलले पनि आफू मन्त्री नबन्ने अवस्थामा श्रीमतिलाई मन्त्री बनाएका छन् ।
हुन त बादलले माओवादीमा हुने बेला पनि श्रीमतिलाई राष्ट्रिय महिला आयोगका अध्यक्ष समेत बनाएका थिए । त्यसपछि पटकपटक समानुपातिक सांसद बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दवाव दिँदै आएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी मन्त्रालयमा एमालेबाट मन्त्री नियुक्त गरेका छन् । आजै नियुक्त गरेर शपथ खुवाउने कार्यक्रम रहेको छ ।
नयाँ अब नियुक्तिसँग प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । नयाँ मन्त्रीसँगै मन्त्रिपरिषद् २५ सदस्यीय हुन लागेको छ ।
यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।
त्यसैगरी ओलीले आफ्नो विश्वास पात्र खगराज अधिकारीलाई गृहमन्त्रीमा नियुक्त गरेका छन् । उनी कास्कीबाट विगठित प्रतिनिधिसभा सदस्य थिए । त्यस्तै, कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विना विभागीय, ज्वाला कुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त भएको बताइएको छ ।
महाडी नेता माधव कुमार नेपाल समूह छाडेर मन्त्री भएका छन् भने ज्वाला साह प्रदेश २ बाट माओवादी छाडेर एमाले आएकी थिइन् । उनीहरुलाई आजै पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।
ओलीले एमाले नेता माधव कुमार नेपाल समूहका नेताहरुलाई ल्याएर मन्त्रिमण्डल विस्तार गर्न चाहेपनि त्यो पूरा भएन ।ओलीले जसपाका नेता राजकिशोर यादवलाई पनि मन्त्री बनाएका छन् । सजपाको सिफारिसमा उनलाई मन्त्री बनाइएको बताइएको छ ।