
काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ । सुनुवाईको लागि संवैधानिक इजलास गठन हुँदैँछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न लागेको बताइएको छ ।
यसअघि गठन भएको इजलासमा दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि आजसम्मको लागि सुनुवाई स्थगित गरिएको थियो । संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपनि जेठ १८ मा उनीहरुले इजलास नछाड्ने राय दिए ।
इजलासका अन्य दुई जना बरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलासमा नबस्ने राय दिएपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास स्थगित गर्नु परेको थियो ।
सर्वोच्च बारसँग भएको सहमतिको पालना गरे प्रधानन्यायाधीश राणाले वरिष्ठताको आधारमा इजलास गठन गर्नेछन् । नागरिकतासम्बन्धी परेको रिटमा वरिष्ठताको आधारमा इजलास गठन गरिएको थियो ।
अध्यादेशको मुद्दा सुनुवाइ गर्न जबराले संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई राखेका छन् ।
तर, शुक्रवार बसेको सर्वोच्चको पूर्ण बैठकले पनि वरिष्ठताको आधारमा इजलास गठन गर्न बाधा नपर्ने निष्कर्ष निकालेर संवैधानिक इजलास कार्यसंचालन नियमावली शंसोधनका लागि सिफारिस नगर्ने निर्णय गरिएको थियो । प्रधानन्यायाधीश राणाले आजको इजलास कसरी गठन गर्छन् हेर्न बाँकी छ ।