आज :

बल्ल बन्यो कम्फटेवल सरकार, महतोलाई बम्पर उपहार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । संसद विघटन र विश्वासको मत लिँदा साथ दिने जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल व्यापकरुपमा हेरफेर गरिएको छ।

महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदा नेकपा (एमाले)का शिर्ष नेताहरुले नै ठूलो त्याग गर्नु परेको छ । पार्टीमा प्रधानमन्त्री ओलीको हर पाइलामा साथ दिँदै आएका नेताहरुले बिदा हुनु परेको छ । पार्टी महासचिव इश्वार पोखरेल, विश्वास पात्र प्रदिप ज्ञवाली, पार्वत गुरुङ, भानुभक्त ढकालसहितका नेताहरुलाई नेताहरुले विदा गरेर ओलीले जसपाका नेताहरुलाई सिंहदरबार भित्र्याएका छन् ।

ओलीले ठाकुर समूहलाई १० वटा मन्त्रालय दिएका छन् । विगठित संसदमा ३२ सिटे जसपा, त्यसमा पनि एक समूह मात्रै सरकारमा सहभागी भएको छ । पार्टीमा बहुमत भएको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई समूह ओलीको बहिर्गमनको पक्षमा लागेको छ ।

जे भएपनि ठाकुर–महतो समूहको लागि  यो अबसर जसपाको लागि सुनौलो अबसर हो । यदि, जसपाकै नेतृत्वमा सरकार बनेपनि यति धेरै मन्त्रालय पाउने थिएन । अझ राजेन्द्र महतोलाई त नेपालमा संचारमाध्यममा गरिने विज्ञापन ‘भाग्यामानी ग्राहकलाई बम्पर उपहार’ जस्तै भएको छ । केही दिनअघि पार्टी अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलमै एक्लो पार्ने धम्कीसहित महतोले प्रधानमन्त्री ओलीलाई विश्वासको मतको पक्षमा हस्ताक्षर गर्न मानेका थिएनन् । तर, ठाकुर संसदीय दलका नेता बनाउने प्रतिबद्धता जाहेर गरेपछि साथ दिएका थिए ।

यादव समूहलाई जानकारी नै नदिएर ठाकुरले  संसदीय दलको नेता पनि बनाए । संसद विघटनसँगै महतोको दलका नेता पनि गयो । यसको सट्टामा उपप्रधानमन्त्रीको माग गरे । त्यो पनि पाएका छन् । जसपाले उनकै नेतृत्वमा सरकारमा सहभागी भएको छ ।

केही दिन पहिला नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुसँगको भेटमा महतोले आफूहरुलाई ओली नै ‘कम्फटेल’ हुने बताएका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एउटा अन्तरवार्तामा नेपाली काग्रेस, आफ्नो पार्टी र जसपाको गठबन्धनमा हुने सरकार छिमेकीको लागि पनि ‘कम्फटेवल सरकार’ हुने बताएका थिए ।

त्यसपछि नेपाली राजनीतिमा प्रचण्डले भारतको लागि कम्फटेल सरकार बनाउन चाहेको भन्दै आलोचना भएको थियो । तर, प्रचण्डले भनेको जस्तो कम्फटेवल सरकार बन्न सकेन । त्यसको लागि सजपा नै बाधक बन्यो । जसपाको ठाकुर र महतोले ओलीलाई साथ दिएकोले प्रचण्डले भनेको जस्तो सरकार बन्न नसकेको हो ।

प्रधानमन्त्री ओलीले यसअघि मधेसी नेताको बारेमा गर्ने टिप्पणी र एमालेको युवा संघले राजेन्द्र महतोलाई भरतीय नागरिक भएको भन्दै नागरिकता छानविन गर्नुपर्ने बताउँदै आएको थियो । युवा संघ नेपालले तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापनपत्र नै बुझाएको थियो । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि महतोको नागरिकताबारे मुद्धा परेका थिए । छानविन हुन नसकेपनि महतोको नागकिरता सम्बन्धी सबैभन्दा बढी एमाले नेताहरुले नै उठाउँदै आएका थिए । एमालेका युवा संघको नेताहरुले ‘भारतीय’ भनिएका महतोलाई ओलीले उपप्रधानमन्त्री बनाए । अब के गर्छन् युवा संघका नेताहरु ।

वि.सं. ०६८ सालमा अख्तियारले गृह मन्त्रालयलाई महतोको नागरिकता सम्वन्धमा पत्राचार गरेको थियो । महतो मन्त्री भएकै बेला अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले सर्लाही जिल्ला प्रशासन कार्यालयलाई नागरिकता सम्बन्धी विवरण माग्दै पत्रसमेत लेखेको थियो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले २०६९ जेठ २९ मा गृह मन्त्रालय, नागरिकता तथा हातहतियार शाखा, सिंहदरवारलाई पत्रको जवाफ पठाए । प्रजिअले जनयुद्धको बेला सबै कागज जलेका कारण महतोको नागरिकतासम्वन्धी छानविन गर्नका लागि हाल कुनै अभिलेख फेला नपरेको जवाफ पठाएको थियो ।

नेपाली राजनीतिमा महतोलाई लाग्दै गरेको आरोपलाई हेर्दा भारतको लागि सरकार अहिले ‘कम्फटेवल’ भनेको सामाजिक संजाल प्रयोगकर्ताहरुले बताएका छन् । महतोले शपथ लिएलगत्तै सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । ठाकुर–महतोलाई ओली कम्फटेवल, भारतलाई ठाकुर–महतो कम्फटेवल भएको भन्दै टिप्पणी भइरहेका छन् । त्यस्तै, आफ्नै पार्टीबाट र विपक्षीहरुबाट एक्लिँदै गएका प्रधानमन्त्री ओलीलाई पनि सत्ताको लागि र्याल निकाल्ने ठाकुर–महतोसँगको सहकार्य कम्फटेवल नै भएको बताइन्छ।

जसपाका मन्त्री हुने अधिकांश नेताहरु नेपाली राजनीतिमा भारत परस्त भएको आरोप लाग्दै आएका अनुहार छन् । अधिकांश नेपाली चिनिएका अनुहार छन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकार धान्न टेकोरुपमा ठानेका मधेसी नेताहरुले चुलिँदै गरेको राजनीतिक संकटमा कुनै भूमिका नखेल्ने निश्चित जस्तै छ । अझ शपथपछि पदभार ग्रहण गर्दैगर्दा महतोले त आ’न्दोलनको चे’तावनी दिइसकेका छन् ।

जसपाबाट मन्त्री भएकाहरुः मन्त्रिमण्डलबाट जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । त्यस्तै, शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिँचाई, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal