आज :

‘पहुचवाला मात्रै बाँच्ने, जनताको जीवन भगवान भरोसा…कहाँ छ सरकार ?’

काठमाडौं । नेपालमा कोरोनाबाट हालसम्म ७ हजार ६ सय ३० जनाको मृत्यु भइसक्दा सरकारको तर्फबाट निशेधाज्ञा गर्ने बाहेक अरु तयारी करिब सून्य नै देखिएको छ । सामान्य अक्सिजन सिलिण्डरमा राजनीति, दात्री निकाय र छिमेकी चीनले सित्तैमा दिने भन्दा पनि त्यसलाई ल्याउने विषयमा आनाकानी, कोरोना लाग्दा प्रयोग हुने औषधीहरुमा कालोबजारी लगायतका विषयमा समेत बेखबर वर्तमान सरकारले खासै जनताको विषयमा भाषण बाहेक केही गरेको पाइदैन ।

प्रधानमन्त्री केपी ओली कहिले वेसार–पनी, कहिले अम्बाको पात त कहिले नेपालको सु्द्ध हावापनी नै कोरोनाको औषधी भन्ने कुरामै सिमित भएको जनताको गुनासो छ । पहिलो लकडाउन ताका राजधानी काठमाडौं शहरहरु बाहेकका अन्य ठाउँमा खासै कोरोनाको प्रभाव नपरे पनि हुम्ला लगायतका हिमाली जिल्लाहरुमा पनि धमाधम कोरोना संक्रमित बढ्ने मात्रै नभएर मृत्यु हुन थालेको छ । दुर्गम जिल्ला हुम्लामा कोरोना संक्रमणका कारण दोस्रो पटक एकजना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण संर्केगाड गाउँपालिका वडा नं २ रिपका ५७ बर्षिय पुरुषको मृत्यु भएको हो ।

संक्रमितको उपचार गाउँमा सम्भव नभएकाले जिल्ला अस्पताल हुम्ला सिमिकोट लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । कोरोना संक्रमणका कारण पहिलो पटक हुम्ला सर्केगाड गाउँपालिका वडा नम्बर २ रिपका टोप्ले बिकको मृत्यु भएको परिवार स्रोतले बताएको छ । “हाम्रो ठाउँमा राम्रो स्वास्थ्य व्यवस्था नभए पनि हाम्रो कोही ठूलो मान्छे या पैसा भएको भए कोरोनाबाट मर्नु पर्ने थिएन”मृतक निज विकका एकजना परिवार सदस्यले गुनासो गरेका छन्, उनले अगाडी थपे,“ पहुचवाला मात्रै बाँच्ने, जनताको जीवन भगवान भरोसा…कहाँ छस् सरकार ?”

सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजकलाई हालै गाउँपालिकाले हेलिकप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पुर्याएर उनको सफल उपचार गरेको थियो । जिल्ला प्रशासन कार्यालयले विकको मृत्युलाई पहिलो जनाएको छ । तर यो मृत्यु दोस्रो पटक हो । पहिलो पटक हुम्ला सर्केगाड गाउँपालिका वडा नं १ निवासी ६३ बर्षिय काली बहादुर कार्कीको कोरोना संक्रमणका कारण निधन भएको हो । निज कार्कीलाई पनि अस्पतालको लापरबहीको कारणले निधन भएको परिवार स्रोत बताउँछ । श्रीमतीको उपचार गर्न काठमाडौं आएका कार्की आफै कोरोना संक्रमित भइ ज्यान गुमाएका हुन् । यसको तथ्यांक जिल्ला प्रशासन कार्यालय हुम्लाले नराखेको पारिवारिक श्रोतको दाबी छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सर्केगाड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पताल हुम्ला लैजाने क्रममा बिकको मृत्यु भएको जानकारी दिए । प्रजिअ आचार्यका अनुसार उपचार गर्न स्टेचरमा बोकेर जिल्ला अस्पताल सिमकोट लैजाने क्रममा सर्केगाड गाउँपालिका दुल्ली कुनामा मृत्यु भएको हो । ‘‘कोरोना संक्रमणबाट मृत्यु भएका उक्त संक्रमितको शव व्यवस्थापन आफन्तले नै गर्ने की नेपाली सेनाले भन्ने बिषयमा छलफल भइरहेको छ ।

यसका लागि सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायासँग समन्वय भइरहेको छ । शव व्यवस्थापनको लागि सेना घटनास्थलमा पुग्न दुईदिन लाग्नेछ,” प्रजिअ आचार्यले सुनाए । एकसाता अघि बिकको कोरोना पुष्टि भएको थियो । बिक दमका दिर्घरोगी थिए । प्रजिअ आचार्यका अनुसार पहिलो संक्रमित काली बहादुर कार्की काठमाडौंमा संक्रमित भएकाले उनको काठमाडौंका तथ्यांकसँग जोडिन्छ । ‘‘अहिलेको सरकारी नियम अनुसार संक्रमितको मृत्यु जहाँ भएको हो । त्यहिको तथ्यांकसँग जोडिन्छ,” प्रजिअ आचार्यले भने ।

फोटोः फाईल

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal