डोल्पा । जिल्लाको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई नेकपा (एमाले)का कार्यकर्ताले सुरक्षा दिइरहेका छन् । जनताको सेवा गर्ने भनेर डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकाको प्रशासकीय अधिकृत बनेर दुर्गम आएका जितबहादुर श्रेष्ठलाई दैनिकजसो एमालेका १० जना कार्याकर्ता सुरक्षा गार्ड बस्ने गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृतको गैरजिम्मेवारी तथा डिलासुस्तीका कारण चालु अर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता वितरण समेत गरिएको छैन । एमालेको कार्यकर्ता बनेर सेवाग्राहीप्रति पूर्वाग्राह राखेपछि स्थानीय असन्तुष्ट बनेका छन् । त्यसैले एमालेका कार्यकर्ताहरुले श्रेष्ठलाई कार्यालय वा कार्यालय बाहिर जान पनि सुरक्षा दिने गरेको स्थानीयले बताएका छन् ।
दुई महिना अघि गाउँपालिकाको कार्यालयमा हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ लामो समय विदामा बस्नु, सामाजिक सुरक्षा शिर्षकमा पर्याप्त रकम उपलब्ध नहुनु र गाउँपालिका अध्यक्ष अल्पमतमा पर्नुलगायतका कारणले ढिलाई भएको गाउँपालिका कार्यालयले जनाएको छ ।
स्यानीय जनताले टेलिफोनमार्फत दिएको जानकारी अनुसार प्रमुख प्रशासकिय अधिकृत गाउँपालिका अध्यक्षलाई असफल बनाउन लागि परेकाले समस्या आएको हो । ‘दुर्गममा काम गरेको भनेर आफ्नो नम्बर बढाउन डोल्पा पुगेका श्रेष्ठ उपाध्यक्षपछि लागेर अध्यक्षलाई असफल बनाउन लाग्दा जनताले दुख पाए ।’ एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘वडा कार्यालयका भवनहरु, टावर निर्माण भएर उद्घाटन भइसक्दा पनि भुक्तानी दिइएको छैन् । कर्मचारीले समेत तलब पाएका छैनन् । प्रमुख प्रशासकिय अधिकृत उपाध्यक्षकाे गोटी बन्दा समस्या आयो ।’
गाउँपालिकामा नेकपा एमाले पार्टीका कार्यकर्ताले ल्याएका फाइलबाहेक श्रेष्ठले अरु फाइल कुनामा फाल्ने गरेको स्थानीयहरुको भनाई छ । एमालेको काम गर्दैगर्दा अरु जनताले गुनासो गरेपछि एमालेले प्रमुख प्रशासकिय अधिकृतको सुरक्षाका लागि १० जना सुरक्षागार्डको व्यवस्था मिलाएको उनको भनाई छ । जनतालाई सेवा दिनुभन्दा पनि अध्यक्ष र उपाध्यक्षबीचको अन्तरविरोधमा श्रेष्ठले खेलिरहेको स्थानीयले आरोप लगाएका छन् ।
स्रोतका अनुसार अमर ब. शाही, राज ब. शाही, लोकेन्द्र ब. शाही, लालमन बिक लगाएत एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षका श्रीमान श्री रारा आधारभुत विद्यालय मुड्केचुला, ओक्टका प्रिन्सिपल लङ्कमान बुढा विद्यालयमा पढाउन छोडेर कार्यकारीको सुरक्षामा खटिएका छन् । त्यतिमात्र नभएर मुड्केचुला इलको वडा अध्यक्ष जग ब. बुढा वडाको काम काज छोडेरै हाकिमको सुरक्षामा खटिएको स्थानीयले जनाएका छन् ।
उनलाई मुड्केचुलामा स्थानीय एमालेका नेताले ल्याएर आएकाले शुरूका दिनदेखिनै एमाले निकट भएर काम गरेका कारण समस्या आएको गाउँपालिका अध्यक्ष दत्त शाहीले बताए । ‘हामीले आर्थिक बर्षको सुरुमै सबैलाई भत्ता दिने विषयमा छलफल गरेका थियौँ । सामाजिक सुरक्षाको शिर्षकमा रकम अपुग भएर आएकाले केही समय रोकेर राखियो ।’ मोटिभेटसँगको कुराकानीमा अध्यक्ष शाहीले भने, ‘अपुग रकम माग गर्दासम्म केही ढिलाभयो । पछिल्लो समय प्रमुख प्रशासकिय अधिकृतज्यू एक महिना काठमाडौँ गएर बसेकाले थप डिलाइ भएको हो ।’
लकडाउन र निशेधाज्ञाका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताए । केही समयदेखि नेपाल बैंकको डोल्पा शाखा शिल भएकाले गाउँपालिकाको काममा अवरोध भएको उनको भनाई छ । ‘हिजोबाट बैंक खुलेको छ । अब प्रकृया पुर्याएर आगामी हप्ताबाट सामाजिक सुरक्षा भत्ता लगायत अन्य भुक्तानीका कामहरु गरिने छ ।’ उनले भने, ‘पहिलादेखि राजनीतिक रुपमा पनि यो गाउँपालिकामा समस्या रहेछ । मलाई अध्यक्षज्यूले पनि राजनीतिक पूर्वाग्रह राख्नुभयो । मिटिङ बसौं न भन्दा उहाँले मान्नु भएन । मलाई एमाले भनेर आरोप लगाउनु भयो । म आउनभन्दा पहिला नै सामाजिक सुरक्षा भत्ता वितरण गरेको भए भइहाल्थ्यो नी ! म आएको जम्मा दुई महिना त भयो । १ बर्षसम्म के हेर्नुभयो उहाँले ?’
एक बर्षसम्म के गर्नुभयो ? भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष शाहीले सामाजिक सुरक्षाका लागि अपुरो रकम आएकाले केही समय ढिलाई भएको बताए । ‘सुरुमा संघिय सरकारले सामाजिक सुरक्षा शिर्षकमा ४० लाख रुपैयाँ मात्र पठायो । पालिकामा ५८ लाख सामाजिक सुरक्षामा खर्च हुन्छ । हामीलाई १८ लाखको कमी भयो । मेरो जोडबलले त्यो रकम ल्याएर एकमुष्ट वितरण गर्ने योजना अनुसार ढिलाई भएको हो । प्रमुख प्रशासकिय अधिकृत १ महिना काठमाडौँ नबसेको भए सबै समस्याको समाधान हुने थियो ।’