
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । एक महिनादेखि जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी खुकुलो बनाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो । जिल्ला प्रशाननले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने भएको छ ।
प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो ।
अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान १० बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ । उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् । आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो । जिल्ला प्रशासनले केही मोडालिटी परिवर्तन गरिए पनि वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।
यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा जेठ २० गते सकिँदैछ । उक्त निषेधाज्ञामा भने खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरिएको थियो । केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृ त्यु दरमा केही कमी आएको छ । विज्ञहरुले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन् ।
हाल संक्रमित हुने भन्दा निको हुनेको दर बढेको छ। सोमबार मुलुकभर ६ हजार ४९१ जना निको हुँदा ४ हजार १७८ जना संक्रमित थपिएका थिए भने ११४ जनाको मृ त्यु भएको थियो ।