
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा नेकपा (एमाले) ओली समूहलाई बामगती पछि लुम्बिनी प्रदेशमा पनि धक्का लागेको छ । आज सम्पन्न राष्ट्रियसभाको रिक्त एक सिटमा भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितका गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेयले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेयलाई जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको पनि समर्थन थियो ।
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ ।
विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । एमालेका उम्मेदवार खड्कालाई जसपाको महन्थ ठाकुर
समूहको पनि साथ रहेको थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।
राष्ट्रियससभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । उक्त पदमा भएको उपनिर्वाचनमा एमालेबाट खड्का नै उम्मेदवार थिए भने विपक्षी गठबन्धनको समर्थनमा कांग्रेसले पाण्डेयलाई उम्मेदवार बनाएको थियो ।
२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पाण्डेय एमालेको तर्फबाट कपिलवस्तु २ (१) बाट निर्वाचित भएका थिए । गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः नियुक्त भएपछि पाण्डेयले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए ।
लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खसेको निर्वाचन आयोगले जनएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका भने सबै ८३ सदस्यले मतदान गरेका छन् ।
स्थानीय तहतर्फ भने बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले अहिलेसम्म मतदान गरेनन् । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो ।
उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता
थिए । प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी कुल मतदाता ३ सय रहेको छ । जसमध्ये ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ मतभार रहेको थियो ।
एमालेका ३८ सांसद र ८७ स्थानीय तहका प्रतिनिधिको गरी कुल ३३ सय ९० मतभार रहेको छ । विपक्षी गठबन्धनका कांग्रेसको १९ सांसद र ६६ स्थानीय तहका प्रतिनिधि गरी कुल २१ सय मतभार छ । माओवादीका १९ सांसद र ४२ स्थानीय तहका प्रतिनिधि गरी कुल १६ सय ६८ मतभार थियो ।
कांग्रेस र माओवादीको मात्रै ३७ सय ६८ मतभार छ । विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच स्थानीय तहका प्रतिनिधि गरी कुल एक सय ३८ मतभार छ । जसपाका ६ सांसद र १४ स्थानीय तहका प्रतिनिधि गरी कुल चार सय ४४ मतभार रहेको थियो ।
यतिमध्ये नपालगंज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले मतदान बहिस्कार गरेका छन् । उनको पार्टीले एमालेलाई समर्थन गरेको थियो ।
नेकपा (माओवादी केन्द्र) बाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गरेपछि उक्त पद रिक्त भएको थियो ।