
बुटवल । लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सकिएको छ । मतदान समय सकिने बाँकी भएपनि मतदान सकिएको छ ।
लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खसेको निर्वाचन आयोगले जनएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका भने सबै ८३ सदस्यले मतदान गरेका छन् ।
स्थानीय तहतर्फ भने बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले अहिलेसम्म मतदान गरेनन् । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो ।
निर्वाचन आयोगका पदाधिकारी मतगणनाको तयारीमा लागेका छन् । मत परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने यसअघि आयोगले जनाइसकेको छ । सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईका अनुसार कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको हो । निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएका थिए ।
प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको थियो ।
निर्वाचनमा सत्तारुढ नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन् ।
मतभारको हिसाबले काँग्रेस र माओवादी एक्लै पनि एमाले भन्दा अगाडि छन् । त्यसमा जसपाका उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले साथ रहेकोले पाण्डेले जित्ने दाबी विपक्षी नेताहरुले गरेका छन् ।
उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।
प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी कुल मतदाता ३ सय रहेको छ । जसमध्ये ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ मतभार रहेको छ ।
एमालेका ३८ सांसद र ८७ स्थानीय तहका प्रतिनिधिको गरी कुल ३३ सय ९० मतभार रहेको छ । विपक्षी गठबन्धनका कांग्रेसको १९ सांसद र ६६ स्थानीय तहका प्रतिनिधि गरी कुल २१ सय मतभार छ । माओवादीका १९ सांसद र ४२ स्थानीय तहका प्रतिनिधि गरी कुल १६ सय ६८ मतभार छ ।
कांग्रेस र माओवादीको मात्रै ३७ सय ६८ मतभार छ । विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच स्थानीय तहका प्रतिनिधि गरी कुल एक सय ३८ मतभार छ । जसपाका ६ सांसद र १४ स्थानीय तहका प्रतिनिधि गरी कुल चार सय ४४ मतभार छ ।
यतिमध्ये नपालगंज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले मतदान बहिस्कार गरेका छन् । उनको पार्टीले एमालेलाई समर्थन गरेको थियो ।
नेकपा (माओवादी केन्द्र)बाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गरेपछि उक्त पद रिक्त भएको थियो ।