आज :

नेकपासँग कार्यगत एकता गर्ने २१ दलीय मोर्चाको निर्णय, नेता कार्यकर्ता रिहा गर्न माग

काठमाडौँ । २१ राजनीतिक सङ्गठनको कार्यगत एकताले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सहकार्य गर्ने निर्णय गरेको छ । प्रतिबद्ध हटेपछि पहिलो पटक नेकपासँग २१ दलीय गठबन्धनले आफ्नो मोर्चामा सहभागी गराएको थियो ।

नेकपाका नेतासहितको बैठकले उपचार नपाएर कसैको ज्यान जाने अवस्थाको अन्त्य गर्न माग समेत गरेको छ । त्यस्तै कोरोना संक्रमितको उपचार र खोप निःशूल्क अनिवार्यरुपमा गर्न पनि सरकारसँग माग गरेको छ । महामारीको बेला पनि स्वास्थ्य क्षेत्रमा संलग्न माफिया, विचौलिया, कालोबजारीया र भ्रष्टाचारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने मोर्चाले बताएको छ । त्यस्तै घरमै आइसोलेसनमा बसेकाहरुलाई निरन्तर चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि माग गरेको छ ।

२१ दलीय मोर्चाको तर्फबाट सीपी गजुरेलले विज्ञप्ति निकाल्दै मोर्चाले नागरिकता विधेयकसम्बन्धी अध्यादेश खारेज गर्नुपर्ने माग समेत गरेको छ । तराई मधेसमा नागरिकता दिने विषयमा अत्यन्त अनुदरवादी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् छलेर ल्याएको अध्यादेशले मधेसमा बसोबास गर्ने नागरिकसँग कुनै सम्बन्ध नभएको मोर्चा दाबी छ ।

जारी विज्ञप्तिमा भनिएको छ, “जो वास्तविक नेपाली हो, नेपालको जुनसुकै भागमा बसोबास गर्दै आएको भए पनि उसले नेपालको नागरिकता पाउनै पर्छ । तर, तराई– मधेशमा नागरिकता दिने विषयमा ओली अत्यन्त अनुदारवादी मानिन्छन् । ‘नागरिकता चक्लेट बाँडेजस्तो बाँड्ने चिज होइन’ भन्ने सूत्र बनाएका ओलीले संसद्लाई छलेर जुन विधेयक जारी गराएका छन्, त्यसको मधेशमा बसोबास गर्ने पुर्खादेखि नेपालमा बसोबास गर्दै आएका नागरिकलाई नागरिकता दिने कुरासँग कुनै सम्बन्ध छैन । सत्तामा बसिरहनका निम्ति मधेशको कुनै पार्टीका नेताहरुसँग लेनदेनको विषयका रुपमा यसलाई ल्याएका छन् । यसलाई स्वीकार गर्न सकिँदैन, यो खोरेज हुनुपर्दछ ।”

त्यसैगरी सरकार र नेकपाबी भएको तीन बुँदे सहमित कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । नेकपामाथिको प्रति’बन्ध हटेपनि नेता कार्यकर्ता जे’लमै रहेको भन्दै तुरुन्त रिहा गर्न पनि जोडदार माग गरेको गरिएको छ ।

यस्तो छ विज्ञप्ति

नेपालमा लामो समयदेखि रहँदै आएको राजनीति सङ्कट थपिँदै गएर ओली सरकारको समयमा त्यसले भयानक रुप लिँदै गएको छ । यसबाट कसरी मुक्ति पाउने भन्ने ठूलो चुनौती हाम्रो अगाडि उपस्थित छ । यसै सन्दर्भमा २१ राजनीतिक सङ्गठनहरुको कार्यगत एकताको बैठक बसी यसले केही महत्वपूर्ण निर्णयहरु लिएको छ । ती निर्णयलाई सार्वजनिक गर्नका लागि यो विज्ञप्ति जारी गरिएको छ ।

१. क. विप्लव नेतृत्वको नेकपालाई यो कार्यगत एकतामा सम्मिलित गर्ने निर्णय भएको छ ।

२. कोभिड महामारीको सम्बन्धमा:  कोभिड–१९को महामारीले नेपालमा कल्पनै नगरेको मात्रामा क्षति भयो । कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर गयो । नेपाल विश्वकै सापेक्षित रुपमा खराब दोस्रोमा सूचिकृत हुन पुग्यो । त्यसका निमित्त ओली सरकार जिम्मेवार छ । अझै पनि महामारीले ताण्डव देखाइरहेको छ । मानिसको जीवन बचाउने सबैको सबैभन्दा पहिलो र प्राथमिक काम हो र हुनु पर्दछ । त्यसको निमित्तः

(क) उपचार नपाएर कसैको ज्यान जाने अवस्था हुनु हुँदैन ।
(ख) सबैको उपचार निःशुल्क हुनु पर्दछ ।
(ग) यसको रोकथाम र नियन्त्रण यसको खोपबाट मात्र हुन सक्ने भएकाले सबै नागरिकलाई निःशुल्क खोपको व्यवस्था अनिवार्यरुपमा गर्नुपर्दछ ।
(घ) घरमै आइसोलेसनमा बसेकाहरुलाई निरन्तर चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्छ ।
(ङ) स्वास्थ्य क्षेत्रमा संलग्न माफिया, विचौलिया, कालोबजारीया र भ्रष्टाचारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्छ ।
(च) स्वास्थ्य क्षेत्रमा भएको माफियाकरणलाई अविलम्ब अन्त्य गर्नुपर्दछ ।

३. राहत प्याकेज: लामो समयदेखि महामारीका कारण हुँदै आएको लकडाउन, निषेधाज्ञा आदिका कारण निम्न आय भएका र दैनिक ज्यालादारी गरी खानेहरुले भोकमरीको स्थितिको सामना गर्नु परिरहेको छ । यसको तत्कालीन समस्या समाधानका लागि विशेष राहत प्याकेजको घोषणा गर्नुपर्छ । बेरोजगारहरुलाई रोजगारीको व्यवस्था नहुँदासम्म बेरोजगारी भत्ता दिनुपर्छ ।

४. फासीवादीकरणको विरोध: विश्व स्वास्थ सङ्गठन र स्वास्थ विज्ञहरुले कोरोनाको तेस्रो लहर आगामी कात्तिकको अन्त्य र मङ्सिरतिर आउन सक्ने र त्यो लहर दोस्रोभन्दा पनि बढी सङ्क्रामक र घातक हुने र त्यसबाट बच्नका लागि तयारी गर्नुपर्ने चेतावनी दिइरहेकै छन् । ठीक त्यही बेला पारेर निर्वाचन गर्ने भन्ने बहानामा मौजुदा संसद्को विघटनको घोषणा गरिएको छ । केपी ओली कम्पनीका अन्य क्रियाकलापहरुमाथि समेत ध्यान दिँदा त्यसको पछाडि ठूलो षड्यन्त्र लुकेको देख्न सकिन्छ । जस्तो– सीमित उपलब्धिहरुको पनि हरण गर्ने, फासीवादीकरणतिर देशलाई लैजाने, इण्डो अमेरिकी योजनाअनुसार नेपाललाई तिनीहरुको खेल मैदान बनाउने । विदेशी शक्ति केन्द्रहरुसँगको मिलेमतोमा गरिने यी सबै षड्यन्त्रलाई विफल बनाउनु आवश्यक छ । यसविरुद्ध परिस्थितिअनुसार सङ्घर्षका विविध रुपहरुलाई अघि बढाउँदै लैजाने ।

५. नागरिकता विधेयकसम्बन्धी: जो वास्तविक नेपाली हो, नेपालको जुनसुकै भागमा बसोबास गर्दै आएको भए पनि उसले नेपालको नागरिकता पाउनै पर्छ । तर, तराई– मधेशमा नागरिकता दिने विषयमा ओली अत्यन्त अनुदारवादी मानिन्छन् । ‘नागरिकता चक्लेट बाँडेजस्तो बाँड्ने चिज होइन’ भन्ने सूत्र बनाएका ओलीले संसद्लाई छलेर जुन विधेयक जारी गराएका छन्, त्यसको मधेशमा बसोबास गर्ने पुर्खादेखि नेपालमा बसोबास गर्दै आएका नागरिकलाई नागरिकता दिने कुरासँग कुनै सम्बन्ध छैन । सत्तामा बसिरहनका निम्ति मधेशको कुनै पार्टीका नेताहरुसँग लेनदेनको विषयका रुपमा यसलाई ल्याएका छन् । यसलाई स्वीकार गर्न सकिँदैन, यो खोरेज हुनुपर्दछ ।

६. क. विप्लव नेतृत्वको नेकपा र ओली सरकारका बीचमा केही महिनाअघि तीन बुँदे सहमति भएर पार्टीमाथिको प्रति’बन्ध हटाउने र केही नेता तथा कार्यकर्तालाई रिहाइ गर्ने काम पनि भयो । तर, उक्त पार्टीका धेरैजना नेता तथा कार्यकर्तालाई विभिन्न बहानामा बन्दीकै रुपमा अझसम्म कारागारमा राखिएको छ । पार्टीमाथि प्रति’बन्ध हटिसकेको र उहाँहरुले उक्त सम्झौताअनुसार नै आफ्ना क्रियाकलाप गरिरहनुभएको अवस्थामा पनि थुना’मा राखिराख्नु गलत भएकोले सबै नेता–कार्यकर्तालाई तुरुन्त रिहाइ गर्न यो बैठक जोडदार माग गर्दछ ।

कार्यगत एकतामा सम्मिलित २१ राजनीतिक सङ्गठनहरु
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३. नेकपा (माले) ४. नेपाल कम्युनिस्ट पार्टी ५. राष्ट्रिय जनमोर्चा, नेपाल ६. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ७. नेपाल कम्युनिस्ट पार्टी ८. नेकपा (माओवादी केन्द्र) ९. नेकपा (माओवादी केन्द्र), १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. राष्ट्रिय जागरण परिषद, नेपाल १४. नेकपा (बोल्शेविक) १५. एमसीसी खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) १८.माक्र्सवादी एकता अभियान १९.नेकपा (माक्र्सवादी) २०. नेकपा माक्र्सवादी (पुष्पलाल) २१. समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal