
काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ । मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कडा नियमका साथ एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जारी निषेधाज्ञा सकिने दुई दिन बाँकी हुँदै थप एक हप्ता थपिएको छ । निषेधाज्ञा थप कठाई गरिने भएको छ । थपिएको निषेधाज्ञामा किराना पसल खोल्न नपाइने भएको छ । तर, बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार उनका अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारी साधन सञ्चालनमा पनि कडाइ गरिएको छ । नयाँ नियमअनुसार ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न दिइनेछ ।
त्यसैगरी निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । त्यस्तै, विवाहमा ७ जना मात्रभन्दा बढी जान पाउने छैनन् । यसअघि हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय बैठकले गरेको छ ।
काठमाडौँ उपत्यकामा बैशाख १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।
नयाँ नियममा किराना पसल खोल्न नपाइने निर्णयका विरोध भएको छ । के खाने भन्दै नगरबासीले विरोध गरेका छन् । बरु स्वास्थ्य मापदण्ड र समय घटाएपनि पनि पूर्णरुपमा बन्द गर्ने निर्णय व्यवहारिक नभएको बताइएको छ । नगरबासीको प्रश्न छ के खाने सरकार ?
निषेधाज्ञाको पालना नगर्नेलाई कडा कारवाही गर्ने निर्णय पनि भएको छ । हालै जारी कोभिड–१९ अध्यादेशअनुसार उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको हो । अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।
मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।