
काठमाडौँ । निषेधाज्ञा उलंघन गर्ने समूहले फोटो खिचेको भन्दै सामवेद अनलाइनका सहसम्पादक प्रकाश बुढा क्षेत्रीमाथि कुटपिट गरेको छ । रिपोर्टिङको क्रममा बुढा क्षेत्री लम्की चुहा नगरपालिका–३ चिसापानी आउँदै गर्दा एउटा पितमारीस्थित एडभान्चर होटल नजिक एउटा समूह निषेधाज्ञाको उलंघन गर्दै जम्मा भएको थियो । उक्त समूह पक्षबीच विवाद भइरहेको थियो । विवादको फोटो खिचेको विषयलाई लिएर उक्त समूहले बुढा क्षेत्रीमाथि भौतिक ह मला गरेको थियो ।
कोरोना भाइरस संक्रमणबाट प्रभावित उक्त क्षेत्रमा स्वास्थ्य मापदण्डको ख्यालै नगरी युवाहरु जम्मा भएका र झगडा गर्न थालेपछि त्यसको फोटो खिच्न खोज्दा आफूमाथि हुलले ढुंगा र दाउराले प्रहार गरेको अस्पतालमा रहेका बुढा क्षेत्रीले बताए । उनको बायाँ काँधको हड्डी भाँचिएको छ भने टाउको र शरीरका विभिन्न गम्भीर चोट लागेको छ । कुटपिटपछि प्राथमिक उपचार पछि लम्की चुहा अस्पतालले काठमाडौँ रिफर गरेको थियो ।
पत्रकार बुढा क्षेत्रीको हाल ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । “कोरोना संक्रमण तीब्र गतिमा फैलिएपछि कैलाली जिल्लाभरी निषेधाज्ञा जारी छ । तर, एक हुल युवाहरु स्वास्थ्य मापदण्डको ख्यालै नगरी नदी किनारमा जम्मा भएका र दुई पक्षबीच विवाद भइरहेको थियो, हामीले त्यसको फोटो खिच्न खोज्दा एक हुल मानिसहरुले पछाडीबाट आएर ढुंगा र दाउराले हाने, गम्भीर चोट लागेकोले म बेहोस् भएछु, त्यसपछि के भयो केही थाहा भएन” अस्पतालको बेडबाट पत्रकार बुढा क्षेत्रीले अनलाइन डबलीसँग भने । उनले आफै निषेधाज्ञाको उलंघन गर्ने र उल्टै कुटपिट गर्ने दोषीलाई पक्राउ गरी कारवाहीको माग गरेका छन् ।
लामो समयदेखि गीत संगितको क्षेत्रमा रहेका बुढा क्षेत्रीले पछिल्लो समय अनलाइन पत्रिकामार्फत सांगातिक क्षेत्रमा कलम चलाउँदै आएका छन्।