
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । एमालेले खनाल–नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो ।
नेता भीम रावलका अनुसार नेपाल समूहले पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष ओली अवैध अध्यक्ष भइसकेको, कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक–पटक गरिरहेकोले स्पष्टिकरण नबुझाउने नेपाल समूहका नेताहरुले बताएका छन् ।
नेता रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्टीकरण दिनुपर्ने बताए । ओलीले पार्टीलाई निजी कम्पनीजस्तो बनाउनुको कारण, नवौं राष्ट्रिय महाधिवेशनपछिको संरचना भत्काउनुको कारण, संविधानमाथि बारम्बार प्रहार गर्नुको कारण, पार्टी विधान विपरीत गतिविधि गर्नुपर्ने कारणलगायत विषयमा स्पष्टीकरण दिनुपर्ने बताए ।
नेपाल समूहले पार्टी एकताको लागि आफूहरुले अन्तिम प्रयास गर्दासमेत ओलीले पार्टीको हित विपरीत गतिविधि बन्द नगरेको बताएको छ । अहिले पार्टीभित्रको विवादको मुख्य कारण ओली भएको भन्दै नेपाल समूहका नेताहरुले ओलीले स्पष्टीकरण लिनुपर्ने बताउँदै आएका छन् ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन खनाल–नेपाल समूहका ११ प्रतिनिधि सभा सांसदलाई अस्ति पत्र पठाएका थिए ।
स्पष्टीकरणमा गएको वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण, र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको छ ।
स्पष्टीकरण नदिने भएपछि पार्टीबाटै निष्कासनसहितको कारवाही गर्ने अध्यक्ष ओलीले तयारी थालेका छन् । त्यसको लागि ओलीले नेपाल समूहका केही नेताहरुलाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् भने आफ्नो समूहका नेताहरुसँग छलफल थालेका छन् ।