
काठमाडौं । सत्ता गठबन्धलाई लिएर चरम विवादमा फसेका नेकपा एमाले र जनता समाजवादी पार्टी औपचारिक विभाजनतिर उन्मुख भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदममा दुईतिर विभाजित एमाले र जसपा स्पष्टिकरण सोध्ने र कारवाहीको तहमा झरेका छन् ।
एमालेले शनिबार नेपाल समूहका ११ संघीय सांसद र १४ तीन नम्बर प्रदेशका सांसदहरुलाई स्पष्टिकरण सोधेको छ । विश्वासको मत लिने क्रममा सामुहिक राजिनामा नगरेपछि ओली पक्षले नेता माधव कुमार नेपालसहित चार नेतामाथिको कारवाही फिर्ता लिएको थियो । शनिबार आकस्मिक रुपमा बसेको स्थायी समिति बैठकले नेता नेपालसहितका ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार स्पष्टिकरण दिने समय अहिले विहानसम्म मात्रै छ । नेता नेपालसँगै झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई .स्पष्टिकरण सोधिएको छ ।
त्यसअघि बागमती प्रदेशका मुख्यमन्त्री तथा एमाले प्रदेशसभा दलका नेता डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले १४ जना प्रदेश सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको थियो । एमालेका बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाका अनुसार प्रदेश सांसदहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपालसहित रचना खड्का, कुसुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवालीलाई स्पष्टिकरण सोधिएको छ । उनीहरुको स्पष्टिकरण चित नबुझे आजै कारवाही गरिने ओली समूहका नेताहरुले बताएका छनु ।
त्यसैगरी प्रधानमन्त्री ओलीको पछिल्लो कदममा विभाजित भएको जसपामा पनि कारवाहीको प्रक्रिया सुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव समूहको कार्यकारिणी समितिको बैठकले राजेन्द्र हमतोका दलको नेताको पद खारेज गरेको छ ।
शनिबार सबेको बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता महतोले पार्टीको निर्णयविपरित काम गरेको कारण स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमलाई समर्थन गर्दै गठन गरिएको कार्यदलमा बसेको कारण लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको पनि उपेन्द्र समूहले गरेको छ । त्यस्तै, ओलीको प्रतिगमन कदम चाल्न साथ दिने जसपा नेपालका सांसदहरुलाई पनि कारवाही गर्ने निर्णय पनि कार्यकारिणी समितिले गरेको छ ।
त्यसैगरी बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग र मध्यावधि निर्वाचनको घोषणालाई प्रतिगामी कदम ठहर गर्दै प्रतिवाद गर्ने निर्णय गरेको अध्यक्ष यादवले जानकारी दिएका छन् । जसपामा सबै कमिटीभन्दा कार्यकारिणी सबैभन्दा माथिल्लो निकाय हो । यसले पार्टीका निर्णयलाई रद्ध गर्न र नेताहरुलाई कारवाही गर्ने अधिकार राख्छ । शनिबारको बैठकमा बहुमत सदस्यको उपस्थिति रहेको बताइएको छ ।
एमाले र जसपाका कारवाही र स्पष्टिकरणलाई हेर्दा अब सँगै बस्न नसक्ने अवस्था रहेको नेताहरुले बताएका छन् । आज अथवा एक दुई दिनमै एमाले र जसपा औपचारिक रुपमा विभाजन हुँदैछन् । संसद नभएकोले संसदमा ४० प्रतिशत पुर्याउन नपर्ने भएकोले विभाजन गर्न पनि सजिलो भएको बताइएको छ ।