
काठमाडौं । आज नेपालमा अहिलेसम्मकै धेरैले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना भाइरस संक्रमण मुक्त भएर सामान्वय जीवनमा फर्किएका छन् ।
पछिल्लो हप्तामा नेपालका कोरोना निको हुने दर बढेको छ । शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । संक्रमण निको हुने दर प्रतिशतको हिसाबमा ७५.८ रहेको छ ।
त्यसैगरी नेपालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । आज थप ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै ५ लाख ५ हजार ६४३ जनामा कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार आजसम्म १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै आज थप १२९ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै हालसम्म ६ हजार १५३ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ३८।५४ प्रतिशत अर्थात १ लाख ९४ हजार ८९१ जना महिला रहेका छन् भने ६१।४६ प्रतिशत अर्थात ३ लाख १० हजार ७५२ जना पुरुष रहेका छन् । संक्रमितमध्ये १.२२ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर परीक्षण भएको छ भने परीक्षण प्रति १० लाखमा ९९ हजार ४४४ जनामा भएको छ ।
हाल संक्रमण देशका सबै जिल्लामा फैलिएको छ भने केही जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । केही सातायता निरन्तर निषेधाज्ञा जारी भएपनि संक्रमण दर भने घट्न सकेको छैन ।
कोरोना संक्रमणको हटस्पट बनेको काठमाडौँ उपत्यकामा शनिबारसम्म आउँदा सबैभन्दा धेरै काठमाडौँमा २० हजार १६६ जना सक्रिय संक्रमित रहेका छन् । भक्तपुरमा हालसम्म १७ हजार ९९२ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १३ हजार १०० जना निको भएका छन् । यस्तै २७४ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा अहिले पनि ६ ४ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै ललितपुरमा हालसम्म २९ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये २३ हजार १६८ जना निको भएका छन् । यस्तै ६ हजार ४४८ जना सक्रिय संक्रमित हुँदा ३६७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।