
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीको लागि दाबी गरेका छन् । काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र एमाले नेता माधव कुमार नेपाल समूहले संयुक्त रुपमा देउवालाई अगाडि सारेका हुन् । देउवाको पक्ष १४९ सरकार गठनको लागि बहुमत सांसदको हस्ताक्षरसहित नेपाल राष्ट्रपति कार्यालय शितल निवासमा बुझाइएको छ ।
संविधानको धारा ७६.५० अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् ।
विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ ।
हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।
देउवाको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।