
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग लगाउने निर्णय गरेको छ । शुक्रबार विहान बसेको बैठकले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।
काँग्रेस पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्रीले एकपछि अर्को गैरसंवैधानिक कार्य गरेको भन्दै त्यसको लागि अन्य दलहरुसँग छलफल गरेर टुंगो लगाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसेको थियो ।
वर्तमान र पूर्व पदाधिकारीसहितको बैठकमा नेताहरुले सरकारको असंवैधानिक कदमविरुद्ध एकजुट भएर लाग्नुपर्ने नेताहरुले धारणा राखेका थिए । आजै चार दलका चार नेताबीच छलफलमा जुटेका छन् ।
काँग्रेससहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल र जसपाका उपेन्द्र यादवसहितको बैठक बस्दैछ । काँग्रेस भने तत्काल सबै दल मिलेर राष्ट्रपतिलाई महाभियोग लगाइनुपर्ने र सँगसँगै संसद सचिवालयमा ओलीमाथि अविश्वास प्रस्ताव ल्याइनुपर्ने पक्षमा रहेको छ ।
विहीबार मन्त्रिपरिषद् बैठकको सिफरिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (३) अनुसार वैकल्पिक सरकार गठनको लागि बहुमत दाबी पेश गर्न आह्वान गरेकी छन् । भण्डारीले आज साँझ ५ बजेसम्मको लागि समय सीमा तोकिएको छ ।
प्रधानमन्त्रीले संसदमा विश्वासको मत नलिएको र राजिनामा नदिएर वैकल्पिक सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको भन्दै विपक्षी नेताहरुले विरोध जनाएका छन् । यसविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ ।