
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य योगनारायण यादव र नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ ।
एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादवको उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा निधन भएको हो । उनलाई थप उपचारको लागि मेडिसेटी भर्ना गरिएको थियो । धनुषाको सबैला नगरपालिका बस्ने यादवको विहीबार विहान निधन भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी केसीको पनि गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो ।
काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।
एमाले नेता यादव मृगौला रोगबाट पीडित थिए । मृगौला प्रत्यारोपणका लागि तयारी भइरहेको बेला यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणका कारण मृगौला प्रत्यारोपण हुन नसकेको नेकपा एमाले धनुषाले जनाएको छ ।
एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवका अनुसार ५७ वर्षीय नेता यादव विगत ४ दिनदेखि उपचार हुँदै आएको थियो । उनको शवलाई नेपाली सेनाले हस्पिटलबाट लगेर दाहसंस्कार गर्नेबारे तयारी गरिरहेको छ । नेता यादवका दुई श्रीमती र दुई छोरा छन् । उनी राजनीतिमा सक्रिय हुनुपूर्व जिल्ला कृषि कार्यालयमा जेटिए पदमा कार्यरत्त थिए ।
नेता यादव सरकारी जागिर छाडेर २०५० बाट खुला रुपमा नेकपा एमालेमा सक्रिय थिए । नेता यादव नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट थिए ।