
काठमाडौं । आज वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार हेटौँडामा अहिले ९ बजेदेखि ३ बजेसम्म मतदान चल्नेछ ।
उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन् ।
बादलले माओवादी केन्द्र परित्याग गरेसँगै उनको सांसद पद गुमेको थियो । उक्त रिक्त पदमा आज उपचुनाव हुन लागेको हो ।
मुख्य प्रतिस्पर्धा बादल र देवकोटाबीच हुनेछ । एमालेको नेपाल समूहको समर्थन पनि देवकोटालाई नै छ । एमालेको विवाद उत्कर्षमा पुगेको बेला एमालेकै देवकोटालाई साझा उम्मेदवार बनाइएको थियो । कार्यदल बनेर विवाद समाधानतिर अगाडि बढेपनि नेपाल समूहले बादललाई समर्थन गरेको छैन ।
यो उपचुनावमा ३४८ मतदाता रहेका छन् । जसमा वाग्मती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ मतदाता हुन् ।
हेटौँडा नगरपालिका–४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान तोकिएको छ । केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाएको छ ।
उपचुनावमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।