
काठमाडौँ । वैकल्पिक सरकार गठनको लागि बहुमत पुर्याउन नसकेका तीन दलका शिर्ष नेताहरुबीच शुक्रबार आगामी रणनीतिबारे छलफल भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्ने निष्कर्ष निकालेका छन् ।
छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । स्रोतका अनुसार तीनै नेता ओलीले फेरि असंवैधानिक कदम चाल्ने भन्दै सहकार्यलाई अझ मजबुद् बनाउने निर्णय भएको छ । ओलीले ढिलो चाँडो संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निष्कर्ष निकाल्दै सहकार्यलाई चुनावी मोर्चामा बदल्ने समेत निर्णय गरेका छन् ।
ओली पुनः प्रधानमन्त्री भएर सपथ दिने तयारी गर्दै गर्दा नेताहरु बुढानिलकण्ठस्थित देउवा निवासमा जुटेका थिए । माओवादी केन्द्रका एक नेताका अनुसार तीन नेताबीच पछिल्लो राजनीतिक परिस्थितिको समिक्षा भएको छ । विदेशी चलखेलका कारण आफूहरुको बहुमत नपुगेको बैठकको निष्कर्ष रहेको छ ।
प्रधानमन्त्री ओलीले एक महिनभित्र विश्वासको मत लिनुपर्ने भएपनि त्यो सम्भव नभएपछि संसद विघटनको बाटोमा जाने तीनै नेता सहमत भएका छन् । ओलीले संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी थालेको समेत बुढानिलकण्ठ बैठकको निष्कर्ष रहेको छ ।
देशलाई मध्यावधि निर्वाचन लैजान संसदमा कसैको पनि बहुमत पुग्न नदिएर संसद विघठन गर्ने दिशातिर ओली अगाडि बढेको भन्दै त्यसको प्रतिवाद गर्नु पर्ने तीनबीच सहमति भएको छ । एमाले नेता माधव कुमार नेपालले गरेको वाचा पूरा नगरेर धोका दिएको तीनै नेताको निष्कर्ष रहेको बताइएको छ । नयाँ सरकार गठनबारे भएका छलफलका क्रममा नेपाल आफू पक्षीय सांसदहरुले राजिनामा गर्ने बताउँदै आएका थिए । तर, अन्तिममा आएर ओलीसँग मिलेर धोका दिएको भन्दै अब सतर्क रहने तीनै नेताबीच सहमति भएको बताइएको छ ।