
काठमाडौं । नेपालका ठुला बैंक हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि सम्झौता भएको छ। राजधानीको एक होटलमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले मर्ज सम्झौतामा हस्ताक्षर गरेका हुन्।
यी दुई बैंक मर्ज भएपछि ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका प्रवक्ता शितल कोइरालाले जानकारी दिए।
तीन महिनामै एकीकृत रुपमा कारोबार थाल्ने लक्ष्य लिइएको छ। यद्यपि कोभिड १९को महामारीका कारण यो समय केही लम्बिन सक्नेछ। हाल एकै ठाउँमा दुई वटा बैंकका कार्यालय भएको अवस्थामा अब एउटा कार्यालय हटाइनेछ। ‘शाखा कार्यालयको कुल संख्या त्यति घट्दैन, एकै ठाउँमा दुईटा छन् भने त्यसलाई अन्य ठाउँमा स्थानान्तरण गरिन्छ’ उनले भने।
मर्ज पुरा नहुन्जेलसम्म दुबै बैंकको सेयर कारोबार हुने छैन। सेयर लगानीका सम्वन्धमा हाल जुन बैंकको जति सेयर छ, मर्जपछि पनि त्यति नै सेयर हुनेछ। हाल दुईमध्ये कुनै बैंकको १ सय कित्ता सेयर छ भने मर्जपछिको सेयर पनि १ सय नै हुनेछ। यदी दुबै बैंकको १–१ सय कित्ता सेयर छ भने मर्जपछिको सेयर २ सय कित्ता हुनेछ।
मर्जपछि बैंकको कुल निक्षेप करिब ३ खर्ब हुनेछ भने चुक्ता पुँजी २६ अर्ब ९३ करोड हुनेछ। त्यस्तै, जगेडा कोष १९ अर्ब १४ करोडको हुनेछ।