आज :

कारवाही फर्ता गरेपछि ओली र नेपालबीच भेटवार्ता हुँदै

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । नेपालसहित चारविरुद्धको कारवाही फिर्ता लिएसँगै ओली र नेपालबीच भेटवार्ता तय भएको हो । भेटको प्रस्ताव ओलीले गरेका थिए ।

राष्ट्रपतिले नयाँ सरकारको लागि दिएको समय सीमा आज सकिँदैछ । अन्तिम दिनमा आएर ओलीले नेपाल समूहमाथि गरिएको कारवाही फिर्ता लिनुको साथै छलफल र संवाद थालेका हुन् । विहीबार ओली समूहका नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।

विहीबार विहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । यो निर्णय फिर्तापछि नेपाल समूहका नेताहरुले सकारात्मक भन्दै संवाद र छलफल गर्नुपर्ने बताएका छन् ।

कारबाही फिर्ताको निर्णयले वातावरण सकारात्मक बनाएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बताए । उनले कुराकानी सुरु भएको र सकारात्मक परिणाम आउने आशा गरे ।

सर्वोच्च अदालतले एमाले ब्युँताएपछि ओलीले २८ फागुनमा आफ्ना पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन गरेका थिए । नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए । त्यसपछि नेपाल समूहले वैशाख ४÷५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो । भेलाका लागि अगुवाइ गरेको भन्दै ७ चैतमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोधेको थियो । नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो । त्यसपछि एमालेभित्रको विवाद सडकमै पुगेको थियो । नेपाल समूहले केन्द्रदेखि जिल्लासम्म समानान्तर कमिटी बनाइसकेको छ ।

कारवाही फर्ता गर्नुअघि ओली र नेपालबीच टेलिफोन वार्ता भएको थियो । ओलीले भेट्ने प्रस्ताव गरेपछि नेपालले पहिलेकै ठाउँमा फर्किनुपर्ने शर्त राखेको बताइएको छ । त्यसको लागि ओलीले विश्वासको वातावरण बनाउनु पर्ने नेपाल समूहका शर्तअनुसार ओलीले चार नेतामाथिको कारवाही फिर्ता लिएका हुन् । बैठकपछि एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पनि पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरु बिर्सिएर अगाडि बढ्ने निर्णय भएको बताए ।

नेपाल समूहका २८ सांसदले ओलीलाई संसदमा विश्वास प्रस्तावको मत नदिएपछि ओली कडा रुपमा प्रस्तुत हुने अनुमान गरिएको थियो । तर, सत्ता गठबन्धनमा नेपाल समूह निणर्यक भएपछि ओलीले थप कारवाही गर्नुको साटो संवादको बाटो लिएका हुन् । नेपाल समूहका सांसदहरुले राजिनामा दिए नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बमुहत पुग्ने भएकोले ओली संवादमा आएको बताइएको छ ।
नेपाल समूहको पूर्वएमालेकै अवस्थामा फर्किनुपर्ने शर्त ओलीले मान्छन् वा मान्दैनन् त्यसमा भर पर्ने देखिएको छ । यदि माओवादीसँग एकताभन्दा पहिलोको अवस्थामा ओली फर्किन तयार भए नेपाल समूहले सरकारलाई समर्थन गर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal