
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसदका कारण गण्डकी प्रदेशमा विपक्षीहरुले नयाँ सरकार गठन गर्न बहुमत नपुगेपछि एमालेकै सांसदहरुलाई राजिनामा गराउने अन्तिम प्रयास भइरहेको छ । नेता माधव कुमार नेपाल समूहका दुई जना सांसदलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन नगराउने प्रयास भइरहेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए ।
“जनमोर्चाका सांसदहरुका गद्धारीका कारण नयाँ सरकार गठनमा चुनौती थपियो । जनमोर्चाका साथीहरुले अन्तिम समयसम्म हस्ताक्षर आउँछ भन्नु भएको थियो । तर, समय सकिँदासम्म त्यो भएन । अब नयाँ विकल्पको रुपमा एमालेकै सांसदहरुलाई पृथ्वीसुब्बा गुरुङलाई समर्थन नगराउने बारे छलफल भइरहेको छ” ती नेताले भने । उनका अनुसार नेपाल समूहका सांसदहरुले मानेका छैनन् । केन्द्रका नेताहरुसँग छलफल भइरहेको छ ।
स्रोतका अनुसार केन्द्रका नेताहरुले निर्देशन नदिएसम्म आफूहरु नयाँ गठबन्धनलाई सहयोग गर्न नसक्ने नेपाल समूहका सांसदहरुले जवाफ दिएका छन् । त्यसपछि नेता नेपालसँग विपक्षी गठबन्धनका केन्द्रीय नेताहरुले छलफल सुरु गरेका छन् । गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्न जसरी रोक्ने विपक्षी दलहरुको तयारी छ ।
पार्टीको निर्देशलाई चुनौती दिँदै जनमोर्चाका सांसद कृष्ण थापाले पोखरा छोडेका छन् । उनले नयाँ सरकार गठनको लागि हस्ताक्षर गर्न नमानेपछि दलका नेताबाट हटाइएको छ । तर, कारवाहीको सिफारिस गरिएको छैन ।
प्रदेश प्रमुख सीता कुमारी पौडेललाई नयाँ सरकार गठनका लागि हस्ताक्षर बुझाउने समय ४ बजे सकिएको छ । समय सीमाभित्र नयाँ सरकार गठनको लागि विपक्षीले बहुमत जुटाउन सकेनन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजिनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको लागि आज ४ बजसेम्मको समय दिएकी थिइन् ।
गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । जसमध्ये एमालेका २७ जना, कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ जना, जनमोर्चाका ३ जना जसपा २ र स्वतन्त्रबाट एक जना सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि ३१ जना सांसदको आवश्यकता पर्छ । जनमोर्चाका एक सांसद अनुपस्थित हुँदा पनि एमालेको बहुमत पुग्छ । तर, नेपाल समूहका एक जना सांसदले मात्रै समर्थन नगर्दा गुरुङ पुनः मुख्यमन्त्री बन्न सक्दैनन् ।
यसैबीच समय सीमा भित्रै नेपाली काँग्रेस सांसद कृष्णचन्द्र नेपालीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् ।
प्रदेश प्रमुख सीता नेपालीलाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।