
काठमाडौँ । गण्डकी प्रदेशमा विपक्षीहरुले नयाँ सरकार गठन गर्न सकेनन् । राष्ट्रिय जनमोर्चा नेपालका सांसदले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनलाई साथ नदिएपछि नयाँ सरकार बन्न नसकेको हो । जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले पार्टीको निर्देशनलाई चुनौती दिँदै पोखरा छोडेका छन् । उनी गृहजिल्ला बागलुङ पुगेका छन् ।
आजै बसेको जनमोर्चाका संसदीय दलको बैठकले थापालाई दलको नेताबाट हटाएको छ । सोको जानकारी महासचिव मनोज भट्टद्वारा हस्ताक्षरित पत्रमा थापालाई तत्काल दलको नेताबाट हटाइ सो विवरणको पत्र सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको बताइएको छ ।
जनमोर्चाको संसदीय दलको बैठकले नयाँ सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयविरुद्धको काम कारवाहीमा थापा संलग्न रहेको बताएको छ । सांसद पदबाट भने जनमोर्चाले हटाउन सकेको छैन
प्रदेश प्रमुख सीता कुमारी पौडेललाई नयाँ सरकार गठनका लागि हस्ताक्षर बुझाउने समय ४ बजे सकिएको छ । समय सीमाभित्र नयाँ सरकार गठनको लागि विपक्षीले बहुमत जुटाउन सकेनन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजिनामा दिएपछि नयाँ सरकार गठनको लागि आज ४ बजसेम्मको समय दिइएको थियो । जनमोर्चाका सांसदहरुले पार्टीको निर्देशन नमान्दा नयाँ सरकार बन्न सकेनन् । यसअघि मुख्यमन्त्रीविरुद्धको विश्वास प्रस्तावमा मतदान हुनु केही समयअघि मात्रै नक्कली कोरोना पोजेटिभ रिपोर्ट बनाएर अस्पताल भर्ना भाएका थिए । बिनासूचना सांसद अस्पताल भर्ना भएपछि वैशाख १५ गते अविश्वास प्रस्तावमा मतदान हुन सकेन ।
गण्डकी प्रदेशमा ६० जना प्रदेश सभा सदस्य रहेका छन् । जसमध्ये एमालेका २७ जना, कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ जना, जनमोर्चाका ३ जना जसपा २ र स्वतन्त्रबाट एक जना सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि ३१ जना सांसदको आवश्यकता पर्छ । जनमोर्चाका एक सांसद अनुपस्थित हुँदा पनि एमालेको बहुमत पुग्छ । स्रोतका अनुसार जनमोर्चाले सांसद थापालाई कारवाही गरे एमालेमा प्रवेश गर्ने तयारी भइरहेको छ ।