
बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनस्वास्थ्य सेवा केन्द्रको भवनाको शिलान्यास गरेका छन् । कोरोना भाइरस संक्रमितको उपचारको लागि तयार गर्न लागिएको केन्द्रको विप्लवले शिलान्यास गरेका हुन् । कोरोना संक्रमितले अस्पतालहरु भरिएको बेला नेकपाले आफ्नै पहलमा संक्रमितको उपचार गर्नेगरी केन्द्रको निर्माण गर्न लागेको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ बानियाँभारमा एक महिनाभित्र तयार गर्ने गरी विप्लवले मंगलबार भवनको शिलान्यास गरेका हुन् । जनस्वास्थ्य केन्द्रको शिलान्यास गदै विप्लवले कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएपछि कोरोना सङ्क्रमितहरूको उपचारका लागि सहज रूपमा विभिन्न सेवाहरू प्रदान गरिने जानकारी दिए । उनले उक्त जनस्वास्थ्य सेवा केन्द्रलाई अझै विस्तार र प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।
जनस्वास्थ्य सेवा केन्द्रबाट दीर्घकालीन रूपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्धसहित अगाडि बढाउने र सबैले मिलेर यसलाई समयअनुसार बिस्तारै सुविधा सम्पन्न अस्पतालका रूपमा विकास गरिनुपर्नेमा बताए ।
कोरोना महामारीलाई परास्त गर्नु मानवीय कर्तव्य भएको बताउँदै विप्लवले सबै नागरिकको स्वास्थ्यलाई ध्यान दिनु अहिलेको आवश्यकता भएकाले कठिन समयमा सबैलाई आआफ्नो ठाउँबाट भूमिका र जिम्मेवारी निर्वाह गर्न अनुरोध गरे ।
शिलान्यस कार्यक्रममा विप्लवसँगै नेकपामा केन्द्रीय सदस्य चन्दबहादुर चन्द ‘वीरजङ्ग’, केन्दीय सदस्यहरू सञ्जीव, असल, जुझारु, नेकपा कपिलवस्तु सचिव शेरमान, शिवराज ९ वडा अध्यक्ष चुरबहादुर खड्का, सहिद प्रतिष्ठानका अध्यक्ष भेकबहादुर थापा, नेकपाका शिवगढी सेक्रेटरी पावेललगायतका उपस्थित थियो ।
उक्त भवन नेकपाको लगानी र शिवगढीका बासिन्दाको सहभागिता निर्माण हुने बताइएको छ । एक महिनाभित्र भवना तयार भएर कोरोनाका विरामीको उपचार सुरु गरिने नेकपाले जनाएको छ ।
यसअघि पनि विप्लवले विज्ञप्ति निकालेर देशभरका नेता कार्यकर्तालाई कोरोना पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका थिए । कोरोनासँगको लडाइँमा जनतालाई साथ दिन पनि विप्लवले पार्टी पंक्तिलाई निर्देशन दिइसकेका छन् । चिनियाँ गतिमा भवन निर्माण गरेर सेवा संचालन गर्ने बताइएको छ ।