
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै तीन दिनभित्र अर्थात बैशाख ३० गते बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई दाबी पेश गर्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन नसकेको सभामुखले जानकारी पठाइएको भन्दै राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको लागि आह्वान गरेकी हुन्।
यसैबीच संसदको विशेष अधिवेशन आज रातिबाट अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । संसदमा विश्वासमा मत लिन नसकेपछि साँझ प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठकले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाईसमक्ष सिफारिश गरेको हो ।
मन्त्रिपरिषदको बैठकको निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास गएका छन् । यसअघि वैशाख १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गरेकी थिइन् ।
संसद अधिवेशनमा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता समेत भएको छ । संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकको सिफारिस बोकेर ओली शितल निवास पुगको थिए ।
ओलीको प्रस्तावमा भएको मतदानमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो । ओलीले विश्वासको लागि १३६ सांसदको मत आवश्यक थियो । आफ्नै पार्टीको माधव कुमार नेपाल समूहका २८ जना सांसदहरुले पनि संसद बैठक बहिस्कार गर्दै ओलीलाई मत दिएनन् ।
सभामुख अग्नी सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लागि राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दै अर्को बैठक बैशाख ३० दिउँसो १ बजे बस्ने जानकारी गराएका थिए । तर, प्रधानमन्त्रीले सभामुखसँग सल्लाह नै नगरी साँझ मन्त्रिपरिषद् बैठक बसेर संसद अधिवेशन अन्त्यको सिफारिस गरेका छन् ।