
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट अहिलेसम्मकै धेरै १३९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार देशभर थप ९ हजार २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसअघि आइतबार ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको ज्यान गएको थियो । आज त्यो संख्या बढेर १३९ पुगेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ ।
त्यसैगरी आज निको भएर सामान्य जीवनमा फर्किनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित प्रेस ब्रिफिङमा सोमबारसम्म देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।