
काठमाडौँ । केन्द्रको राजनीतिसँगै प्रदेशमा उतारचढाब भइरहेको छ । यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन् ।
आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई जसरी पनि फेल गराउने योजना सफल हुन नसकेपछि गुरुङले आज राजिनामा दिएका हुन् । गुरुङमाथि प्रदेशसभामा पेश गरिएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेको छ । मतदानमा गुरुङको पक्षमा बहुमत जुट्न नसक्ने पक्का भएको छ ।
राष्ट्रिय जनमोर्चाका एक सांसदलाई जबरजस्ती अस्पताल भर्ना गराएर सरकार बचाउन खोजेपनि सफल हुन सकेनन् । बैशाख १५ गते अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बे पत्ता भएकाले बैठक स्थगित गरिएको थियो । अफ्नो पार्टीका सांसदलाई खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेश सभा बस्न सकेको थिएन । यही बीचमा वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो । प्रदेश सभामा २ वैशाखमा अविश्वास दर्ता भएको थियो ।
मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद तथा गुण्डा नाइकेको परिचय बनाएका दिपक मनाङ्गेलाई खेलकुद मन्त्री बनाएका थिए । मनाङेलाई मन्त्री बनाउँदा पनि गुरुङको पक्षमा बहुमत जुट्न सकेन ।