
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिदैछन् । त्यसको लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष अधिवेशन बोलाएकी थिइन् ।
संसद अधिवेशनअघि गरिएको पीसीआर परीक्षणमा १९ सांसदहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि नै ८ जना सांसद संक्रमित भएका थिए । सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरिएको थियो । सांसदहरुसहित १६० जनामा कोरोना पुष्टि भएको छ । १२ सय ३५ स्वाव संकलन गरिएको र उनीहरुमध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
वैशाख २२, २३ र २४ गते गरी २०५ सांसदको नमूना संकलन गरिएको थियो । रिपोर्ट आएकामध्ये २६ प्रतिनिधिसभा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, तीन जना राष्ट्रियसभा सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संसदी मामिलाको रिपोर्टिङ गर्ने पत्रकार पनि स्वाव संकलन गरिएको थियो ।
कोरोना संक्रमित सांसदहरुलाई मतदानमा सहभागी गराउने संसद सचिवालयले जनाएको छ । उनीहरुको लागि अलगै हलमा मतदानको लागि व्यवस्था गर्ने तयारी भइरहेको छ । नमूना संकलन गरिएका थप सांसदहरुको रिपोर्ट आज आउने बताइएको छ । अहिले कोरोना पोजेटिभ रिपोर्ट आएका कोही पनि अस्पताल भर्ना नगरिएकोले मतदानमा सहभागी गराउन समस्या नहुने संसद सचिवालयले जनाएको छ ।
आइतबारसम्म कोरोना संक्रमित सांसदहरु
झलनाथ खनाल, मुकुन्द न्यौपाने, मायादेवी न्यौपाने, पार्वती डिसी चौधरी, राजेन्द्रप्रसाद गौतम, नन्दलाल रोका क्षेत्री, लालबाबु पण्डित, लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, महेश बस्नेत, रामबाबु यादव, गोपालबहादुर बम, नमीता कुमारी चौधरी, शान्तिमाया तामाङ, विना कुमारी श्रेष्ठ, रेनुका गुरुङ, जुलीकुमारी महतो, रघुवीर महासेठ, किसान श्रेष्ठ, सुरेश कुमार राई, पुष्पा कुमारी कर्ण कायस्थ, भानुभक्त ढकाल, बीना मगर, भरतकुमार शाह, प्रमोद शाह, दिपकप्रकाश भट्ट