
काठमाडौँ । नेकपा (एमाले)को माधव कुमार नेपाल समूहका सांसदहरुले आज सामुहिक राजिनामा दिने भएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको वार्ता र छलफल सकारात्मक दिशातिर अगाडि नबढेपछि सांसदहरुले सामुहिक राजिनामा दिन नेपाल समूह निष्कर्ष पुगेको हो ।
माधव नेपाल– झलनाथ खनाल समूहको शनिबार बसेको स्थायी समिति बैठकले ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने निर्णय गरेको बताइएको छ । तर, ओली समूहका दोस्रो तहका नेताहरुले वार्ता र छलफलको प्रयास जारी राखेका छन् ।
नेपाल र खनाल समूहका सबै सांसदहरु राजिनामा दिन तयार भएका छन् । हिजोको बैठकमा ओलीको घण्मडको अगाडि नझुक्न नेताहरुलाई सुझाव समेत लिएका थिए । आफूहरु सामुहिक राजिनामा दिन तयार तर ओलीको एकलौटी, मनपरी र दम्भको टाँङमुनि नपस्ने बैठकमा बताएका थिए ।
यो समूहका कति सांसदहरुले राजिनामा दिनेछन् भन्ने सार्वजनिक नभएपनि प्रत्यक्षतर्फका राजिनामा दिन तयार भएका छन् । नेपाल–खनाल समूहसँग २० जना प्रत्यक्षतर्फका सांसदहरु रहेको बताइएको छ । यदि यो समूहका २० जना सांसदहरुले मात्रै राजिनामा दिएपनि ओलीलाई विश्वासको मत जुटाउन सक्ने छैनन् ।
नेता माधव कुमार नेपालको भनाईले पनि सांसदहरुले सामुहिक राजिनामा दिने पुष्टि गरेको छ । बैठकपछि नेता नेपालले आफूहरुले प्रधानमन्त्री ओलीलाई सच्च्याउन निकै प्रयास गरेको तर उनी नसच्चिएको बताए । एमालेका सबै १२१ जनाले ओलीको पक्षमा मतदान गर्दा पनि १५ जना सांसदको अपुग हुन्छ ।
अहिलेसम्मको हिसाबमा एमालेका पूरै सांसद र जनता समाजवादी पार्टीबाट १५ सांसद ल््याएर विश्वासको मत पुर्याउने ओली समूहको तयारी थियो ।
भोलि (सोमबार) विश्वासको मत लिने प्रयोजनको लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । ओलीको विपक्षमा मतदान गर्न नेपाली काँग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिसकेको छ । नेकपा माओवादी केन्द्रले आज ह्वीप लगाउने तयारीमा छ ।
ओलीले विश्वासको मत नपाउने सम्भावना बढी रहेपछि विपक्षी नेपाली काँग्रेसले सरकार गठनको छलफल थालेको छ । काँग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ । तर, विश्वासको मत नपाएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको ठूलो दल भएको भन्दै ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना पनि रहेको छ । विपक्षी दलहरुले बहुमत सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको लागि राष्ट्रपति समक्ष बुझाउने तयारी पनि थालेका छन् ।