
हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । रिक्त एक स्थानको लागि बादलसहित तीन जनाको उम्मेदवारी परेको छ ।
बादलले नेकपा माओवादी केन्द्र परित्याग परेपछि वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्नको कार्यसूची रहेको थियो ।
उम्मेदवारी दर्ता गर्न बादल हेलिकोप्ट चढेर शुक्रबार विहान प्रदेश राजधानी हेटौडा पुगेका थिए । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत बसेका छन् । उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ ।
विपक्षी गठबन्धनले संघीयताविज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ । देवकोटालाई नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव कुमार नेपाल समूह र जनता समाजवादी पार्टीको समर्थन छ । उनी स्वतन्त्र उम्मेदवार बनेका छन् ।
देवकोटाको प्रस्तावकमा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।
त्यसैगरी राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।
जसरी पनि गृहमन्त्री बादललाई हराउने विपक्षी गठबन्धनको तयारी छ । तर, उम्मेदवारी दर्तापछि आफ्नो जीत सुनिश्चित भइसकेको बादलले दाबी गरेका छन् । नेपाल समूहले बादललाई समर्थन नगरे जित्न निकै चुनौती रहेको बताइएको छ ।
यही बुझेर गृहमन्त्री बादलले सुरुमा उम्मेदवारी दिन अस्वीकार गरेको चर्चा भएको थियो । तर, अन्तिममा आएर चुनाव लड्न तयार भए । माओवादी परित्याग परी एमालेमा गएका नेताहरुमध्ये पहिलो पटक सूर्य चिन्हमा बादल चुनाव लड्न लागेका छन् ।