
काठमाडौँ । नेपालमा अहिलेसम्मकै धेरै ९ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आज बुधबार भन्दा संक्रमण दर उच्च पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ जनाको परीक्षण गर्दा ८ हजार ९७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । आज देशभर संक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी आज कोरोना संक्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन् । यो संख्या बुधबारको भन्दा ४ अंकले कम हो । योसँगै मृतकको संख्या ३ हजार ५२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।
आज पनि सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३१ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बिहीबार जनाएअनुसार ३१६३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा संक्रमण पुष्टि भएको छ ।