
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले उन्नत मानव जीवनको लागि श्रम र वि’द्रोह श्रमिक वर्गको बाध्यता र अधिकारी भएको बताएका छन् । विप्लवले शनिबार १३२ औँ श्रमिक दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै श्रमिकहरू केवल उत्पादनका औजार नभएर समृद्धिका स्रोत रहेको र जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नैपर्ने उल्लेख गरेका छन् ।
विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उन्नत मानवजीवनका लागि श्रम र वि’द्रोह श्रमिक वर्गका बाध्यता र अधिकार हुन् । श्रमिकहरू केवल उत्पादनका औजार होइनन्, समृद्धिका स्रोत हुन् । जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नै पर्दछ । नेपाल ऐतिहासिक रूपान्तरणको सम्भावनाबाट अघि बढिरहेको छ । यहाँको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमा पनि असफल भइरहेको छ तर यसले आफ्नो सङ्कट टार्न साम्राज्यवादी शक्तिहरूको निर्देशनमा अनेकौँ जालझेल गर्दैछ । नेपालका मजदुर, किसान र आमश्रमिकहरूले बुझ्नैपर्छ– आवश्यकता आमूल परिवर्तन र वैज्ञानिक समाजवादको छ । यसका लागि हाम्रो पार्टीले संसदीय सरकारको ठाउँमा आम प्रगतिशील, वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्टहरूको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार र दलाल पुँजीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ताको विकल्प पेस गरेको छ ।”
श्रमिक वर्गको सारा उत्पादनलाई राज्यको बल प्रयोग गरेर आफ्नो खल्तीमा भर्ने पुँजीवादी लुटका विरुद्ध बलिदानीपूर्ण वि’द्रोह गरेर मात्र श्रमिकहरूले मानवजीवन जिउने अवसर प्राप्त गरेको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । “आज आफ्नो अमूल्य श्रमद्वारा संसारलाई आधुनिक सभ्यता प्रदान गर्ने श्रमिक वर्गको गौरवपूर्ण श्रमिक दिवस १ मई हो । सर्वप्रथम यस सुखद अवसरमा संसारभरका श्रमिक वर्गप्रति हार्दिक शुभकामना प्रकट गर्दछौँ । श्रमिक वर्गको सारा उत्पादनलाई राज्यको बल प्रयोग गरेर आफ्नो खल्तीमा भर्ने पुँजीवादी लुटका विरुद्ध बलिदानीपूर्ण विद्रोह गरेर मात्र आजका श्रमिकहरूले मानवजीवन जिउने अवसर प्राप्त गरेका हुन् । परन्तु आज पनि संसारमा विशेषगरी नेपालजस्ता देशमा श्रमिक वर्गको जीवन आधारभूत आवश्यकता गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता समस्याहरूको चाङभित्र छट्पटाइरहेको छ । एकाधिकारवादी निगम पुँजीवादी एवम् दलाल पुँजीवादीहरूले असीमित शोषण गरिरहेका छन्” जारी विज्ञप्तिमा भनिएको छ ।
“विश्वभर पैदा भएको पुँजीवादी सङ्कटले साबित गर्छ– मानव जातिको उन्नत जीवनका लागि वैज्ञानिक समाजवादबाहेक अर्को कुनै विकल्प छैन । नेपालमा यसको उचित परिस्थिति बनेको छ । सारा मजदुर किसान एवम् श्रमिक साथीहरू आउनुस्, राष्ट्र परिवर्तन गर्ने यो ऐतिहासिक जिम्मेवारी बहन गर्न क्रा’न्तिकारी पूर्वजहरूको पदचापमा एकताबद्ध भएर निर्भीकतापूर्वक अगाडि बढौँ । श्रमिक वर्गको संसारलाई कसैले रोक्न सक्नेछैन” विज्ञप्तिमा उल्लेख छ ।