
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको आज दोस्रो दिन । बजार र यातायात बन्द छ । मानिसहरु हिडडुल पनि पूर्णरुपमा रोकिएको छ । तर, कोरोना संक्रमणदर भने अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै करिब तीन हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार चार सय ४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरेर २९ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर ५ हजार ७२७ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्र आधा बढीमा संक्रमण देखिएको हो । २४ घण्टामा ३३ जनाको भने ज्यान गएको छ ।
मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै आज थप ९२८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । योसँगै कोरोना निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप ३३ जनामा कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना कारण ज्यान जानेको संख्या ३ हजार २८९ पुगेको छ ।
नेपाल हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।